काठमाडौँ— वर्षेनी असार १५ मा राष्ट्रिय धान दिवस मनाईन्छ । प्रत्येक वर्ष महोत्सव नै गरेर मनाउने गरे पनि अर्बाैको खाद्यान्न भने बाहिरबाट नै मगाउनु पर्छ । हरेका वर्ष खाद्यान्नको नाम ठूलो रकम बाहिरीरहदा कृषी प्रधान भनिने देशमा भने खेतीको समयमा आवश्यक सामग्रीको सधै अभाव नै हुन्छ ।
आज असार १५, मानो रोपेर मुरी फलाउने दिन अर्थात धान दिवस । देशैभर धान रोपेर मनाईयो । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइरहँदा भित्र भित्र खालको रोपाई देखियो । शीतल निवासमा आयोजित धान रोपाई कार्यक्रममा कुर्था सुरुवालमा सजिएका राष्ट्रपति रामचन्द्र पौडेलले कोदाली लिएर बाउसे गर्न हिलो खेतमा खुट्टा गाड्दा,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरमा परम्परागत रोपाई भन्दा आधुनकि मेसिनबाट धान रोपे । मेसिनको दायाँबायाँ अङ्गरक्षक राखेका प्रधानमन्त्रीले नीलो क्याप, हरियो टिसर्ट, कालो पाइन्ट र सेतो ब्राण्डेड नाईकी जुत्तामा सजिएर मेसिनबाट धान रोप्दा उनी आधुनिक रोपार देखिएका थिए । जे होस् हिलोलाई नछोएरै भए पनि देशका प्रधानमन्त्रीले असार १५ भने गज्जबले मनाए ।
असार १५ त आयो तर मल भने आउन सकेन । कुनै बेला बंगलादेशलाई समेत धान निर्यात गर्ने नेपाल अहिले अर्बाैको आयात गर्नु पर्ने अवस्था छ । चालु आर्थिक वर्षको जेठमसान्तसम्म मात्रै २१ अर्बको धान चामल आयात गरेको तथ्यांकले देखाएको छ । प्रत्येक वर्ष यति ठूलो रकम बाहिरिदा कृषी प्रधान भनिने देशमा खेतीको समयमा आवश्यक सामग्री भने सधै अभाव नै हुन्छ । नेपालले प्रत्येक वर्ष ५७ लाख मेट्रिक टन धान उत्पादन गर्दै आए पनि अझै झण्डै छ लाख मेट्रिक टन चामल अपुग हुन्छ । तर, त्यसलाई पुर्ति गर्न लहलह धानको बीउ उम्रिन पर्ने खेतमा अहिले कंक्रिटको भवन ठडिएको छ। सायद यसैलाई इंगित गरेर सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले खेतमा प्लटिङ, घाँटीमा धान, भारतीय चामल नेपालको सान भनेकाछन् । तथापी प्रधानमन्त्री प्रचण्ड भने धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको भन्दै आत्मरतिमा रमाईरहेको छ ।
असार १५ बितिसक्दा पनि अहिलेसम्म देशभर जम्मा १० प्रतिशत पनि रोपाईं हुन सकेको छैन । १३ लाख ९८ हजार आठ सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आइरहेको भए पनि एक लाख ३६ हजार चार सय ११ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यो भनेको जम्मा ९.८ प्रतिशत मात्र हो । देशभर पर्याप्त सिञ्चाईको सुविधा नहुँदा अझै धान उत्पादन हुने लाखौ हेक्टर क्षेत्रफल जमीन बाँझै छ । अहिले गाउँ घरतिरको खेतबारी बाँझै राख्ने तर शहरमा कौशी खेती गरेर रमाउने जमात पनि ठूलै छ । सामाजिक सञ्जालकौ लागि गमलामा नै धान रोपेर रमाउने जस्ता विकृतिले निराशा छाएको कृषि मन्त्री नै स्वीकारिरहेका छन् । कृषि र कृषकको वकालत गरेर नथाक्ने तर समस्या सम्बोधन गर्न नसक्ने नेता र नेतृत्वले वर्षको एक दिन खेतबारीमा खुट्टा टेकेर बचनवद्धता पनि दिन्छन् । रहर पुरा गर्नकै लागि बाजागाजासहित रमाईलोका लागि नेताहरू खेतको हिलो टेक्न पुग्दा कृषि प्रधान देश भने पनि हालत भने परनिर्भरतामा नै सीमित बनेको छ ।
नेपाल कृषि प्रधानदेश हो भन्ने आभास केबल असार १५ मा मात्रै हुन्छ । मुखले जतिसुकै कृषी प्रधान देश भनेर फलाँके पनि व्यवहारत त्यस्तो देखिदैन । हाम्रो वास्तविकता भने एक दिन रोपाई महोत्सव गर्ने र वर्षाैसम्म कृषि शब्द बिर्सने नै हो । यसरी एक दिन दिवस मनउँदैमा कृषी क्षेत्रमा ठूलो फड्को मार्छ भन्ने हत्केलाले सूर्य छेक्छु भने जस्तै हो । जबसम्म बीउ, मल र धान उत्पादनमा चासो दिईदैन तबसम्म यो दिवस औपचारिकता भन्दा माथि नउठ्ने पक्का छ ।
प्रतिक्रिया