काठमाडौँ— भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेसँगै भारतीय कप्तान रोहित शर्माले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।
शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले ट्वान्टी-२० विश्वकपको फाइनल नै उनको टवान्टी-२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।
रोहित शर्माले पत्रकार सम्मेलनमा भने, यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अपराजित रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो ।
भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले संन्यासको घोषणा गरेका हुन् । विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत चुनिए ।
त्यस्तै कोहलीले भने यो मेरो आखिरी ट्वान्टी-२० विश्वकप थियो । हामी यही हासिल गर्न चाहन्थ्यौँ । एकदिन तपाईंलाई लाग्न सक्छ कि तपाईं रन बनाउन सक्नुहुन्छ तर यस्तै केही हुन्छ । भगवान् महान् छन् । यो अहिले र कहिल्यै पनि नहुने स्थिति हो । मैले भारतका लागि अन्तिम ट्वान्टी-२० खेल खेलेको हुँ ।
प्रतिक्रिया