Breaking

रास्वपामा गर्लफ्रेन्डवाद ! को हुन् गर्लफ्रेन्ड सांसद ?


काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी सुध्रिनु पर्ने महामन्त्री मुकुल ढकालको प्रतिवेदनले नयाँ रुप लिएको छ । पार्टीको सत्तालोलुप प्रवृत्तिले धरातल खस्किदो अवस्थामा रहेको विश्लेषणले सभापतिमाथि प्रश्न उठ्दा कतिपयले यसको भागेदार महामन्त्री नै हुनुपर्ने टिप्पणी गरेपछि घटनामा ट्वीस्ट आएको छ ।

जनचाहना र जनमत विपरीत पार्टीमासमेत छलफल नगरी रास्वपा सरकारमा गएको भन्दै गुुम्सिएर बसेको असन्तुष्टि महामन्त्री मुकुल ढकालको प्रतिवेदनसँगै विस्फोट भएको छ । पार्टी मन्त्री र राजदूतको भागबन्डामा मस्त रहेका बेला महामन्त्रीले सरकार छाड्नु पर्ने, नभए विवेकशील साझाको हालतमा पुग्ने निष्कर्ष निकालेका छन् ।

पार्टीको सत्ता र पदलोलुप प्रवृत्तिकाविरुद्ध महामन्त्रीको प्रतिवेदनले धेरै हदसम्म काउन्टर दिएकाले पार्टीको आन्तरिक शक्ति संघर्ष उत्कर्षमा पुुग्ने विश्लेषण भइरहेका बेला अर्को पक्षले भने महामन्त्रीमाथि नै काउन्टर दिएको छ । गणेश कार्की लगायतका नेताहरुले यही अवस्थामा रहे पार्टीको हालत खराब हुने भविष्यवाणी स्वीकार गर्न सकिने भए पनि त्यसको मुख्य जिम्मेवार मुकुल ढकाल नै भएको आरोप लगाएका छन् । यसले प्रतिवेदन ल्याएकै भरमा आफूमाथि कारबाही हुने डर मुकुलमा किन रहेछ ? भन्ने कुरासमेत प्रमाणित हुन थालेको छ ।

खासमा परिवारवाद हाबी नहुने दाबी गरिएकोमा अहिले गर्लफ्रेन्डवाद हाबी भएको दाबी गणेश कार्कीलगायत नेताहरुले गरेका छन् । प्रतिनिधि सभामा समानुपातिक सांसद पठाउँदा रोलक्रम मिचेर आफन्त भर्ती गरेको आरोप महामन्त्री मुकुलमाथि लागेको छ । त्यसबेला निशा डाँगी लगायत केही समानुपातिक सांसदको छनोटमा परेका थिए ।

यसलाई प्रक्रियासंगत बनाउनु पर्ने भन्दै केही नेताहरुले विरोधसमेत गरेका थिए । यसबाहेक अनेक षड्यन्त्र बुनेर चुनाव हराउन, पार्टीमा सक्रिय नेताहरुलाई विभिन्न प्रकरणमा मुछेर बदनामित गर्न र गुटबन्दीको सुरुवात पनि मुकुलले नै गरेकाले नैतिकताका आधारमा सबैभन्दा पहिले उनले राजीनामा दिएर प्रतिवेदन बुझाउनु पर्ने लाइनमा केही नेताहरु देखिएका छन् । मुकुलले प्रतिवेदन बुझाएकै दिन कार्कीले उनको प्रतिवेदनमा धेरै हदसम्म सहमत रहेको बताएका थिए ।

तर बाँकी केही हदको असन्तुष्टि मुकुलकै कार्यशैलीमा रहेको उनको स्टाटसमै झल्किन्छ । उनले पार्टी ध्वस्त भए पनि विधि मिचेर, आममानिसलाई समेत गलत जानकारी दिएर श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाउनेहरुका कारण जोखिम रहेको बताएका छन् । यसबाहेक स्कुलको जग्गाको भाडा नतिरेको प्रकरणमा निलम्बनमा परेका लालविक्रम थापाले समेत मुकुलले आफ्ना मान्छे च्याप्न र इलाममा अर्कै पार्टीलाई चुनाव जिताउने गरी स्वयं महामन्त्री नै लागेको आरोप लगाएका छन् । केही जानकारहरु भने महामन्त्रीको प्रतिवेदन राजनीतिक नभइ एनजीओ ढंगको भएको बताउँछन् ।

हुन पनि यो प्रतिवेदनले रविलाई भन्दा बढी मुकुललाई नै तरबारमा उभ्याइदिएको छ । गणेश कार्कीको भनाइलाई आफू सांसद बन्न नपाएको कुण्ठा मान्न सकिए पनि हिजो कार्कीलाई सांसद बनाउँदा बालेनले पार्टी फोड्न सक्ने भन्दै छेक्ने मुकुलले अहिले पार्टीलाई बालेन नै चाहिने शब्दावली लेख्नु आफैँमा शंकास्पद छ । पार्टीमा बालेन, हर्क, गोपी ल्याउनुपर्ने भए पनि त्यसको बाधक मुकुल नै ठहरिररहेका छन् । तर मुकुलले भने अहिले पनि प्रतिवेदनमार्फत रवि र बालेन दुुबैतिर खेल्न खोजिरहेका छन् ।

यसो हुँदा सभापति लगायत नेताहरुले लोकतान्त्रिक पार्टीमा महामन्त्रीले नेतृत्वको आलोचना गर्नु सकारात्मक भएको बताइरहे पनि यी आफ्नै दोभाषे शैलीले मुकुल समस्यामा पर्ने देखिन्छन् । यदि मुकुलको प्रतिवेदन धरातलभन्दा फरक देखिए वा उनैले पार्टीमा गडबड गरेको देखिए पार्टी विधानको धारा ४१ अनुसार कारवाही गर्ने बाटो जीवितै छ । यसले पार्टीले क्षति व्यहोर्ने कुरा त स्वभाविक नै छ । त्योभन्दा बढी क्षति दुई डुुंगामा तैरिन खोजिरहेका मुकुलले नै व्यहोर्नु पर्नेछ ।