Breaking

विद्यार्थी फेल भएपछि एसईई प्रणालीमाथि नै प्रश्न, बिचमै पढाई छोड्नेको डर लाग्दो आँकडा


काठमाडौँ – यस वर्षको एसईई परीक्षामा आधाभन्दा बढी विद्यार्थी फेल भएको विषय संसदमासमेत उठेको छ । एसईई परीक्षामा ५२ प्रतिशतभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएको भन्दै सांसदहरुले प्रतिनिधिसभामा आवाज उठाएका हुन् । उनीहरुले असन्तुष्टि व्यक्त गर्दै कमजोर नतिजा आएको सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने जोडदार माग गरे ।

एसईई परीक्षाको निराशाजनक परिणामलाई लिएर यतिबेला सबैतिर बहस भइरहेको छ । अभिभावकदेखि शिक्षा क्षेत्रमा आबद्ध व्यक्ति मात्रै नभइ संसदमा पनि बहसको विषय बनेको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तीर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने माग गरे ।

उनीहरुले धेरै विद्यार्थी अनुत्तीर्ण हुनुको दोष सरकारकै रहेको बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन् । उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताउँदै यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन् ।

त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको हो भन्दै प्रश्न गरे । उनले शिक्षामा गुणस्तरीयता नभएका कारण यस प्रकारको परिणाम आएको आरोप लगाए । २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने उनको तर्क छ ।

बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तीर्ण हुनुको कारणबारे अध्ययन गर्नुपर्ने धारणा राखिन् । उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भन्दै प्रश्नसमेत गरिन् ।

कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद चौधरीले विद्यालयहरुमा गणित र विज्ञानका शिक्षक पाउन समस्या हुने गरेको बताए । उनले कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बिचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।

यस वर्ष एसईईइ परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भए । यो नतिजाले यतिबेला शिक्षाको गुणस्तरबारे गम्भीर प्रश्न उठेको छ भने समीक्षा गर्नुपर्ने अवस्थासमेत सिर्जना भएको छ ।