विकल्प भनिएका शक्तिहरु एकजुट हुनुपर्ने लामो समयदेखिको बहस रास्वपा महामन्त्री डा.मुकुल ढकालको प्रतिवेदनसँगै पुनः तातिएको छ । पुरानासँग मिलेर जादाँ पार्टी नै दुर्घटनामा पर्ने खतरा औँल्याएका उनले बालेन जस्ता व्यक्तिलाई रास्वपामा तान्नुपर्ने उल्लेख गरेका छन् । जसलाई संगठन नै सहित आउनुपर्ने स्वतन्त्रहरुको बाध्यतासमेत समेटिने बहसका रुपमा हेर्दा रवि र बालेन कति नजिक कति टाढा छन् त ?
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुन सक्ने चेतावनी दिएका छन् । आफ्नो पद नै धरापमा पर्न सक्ने खतरासमेत औँल्याएका उनले
रास्वपाको औचित्य पुष्टि गर्ने गरी केही निर्णय गर्नुपर्ने सुझाव दिएका हुन् ।
सत्तामा जानुको औचित्य पुष्टि गर्न नसक्नु, पार्टी सभापति रवि लामिछाने माथिको प्रश्न बलियो बन्दै जानु, नयाँ र विकल्प भनिएकासँग समन्वय नहुनु नै अहिलेको समस्या भएको उनको बुझाइ छ । अर्थात, स्थानीय तहमा रहेर काम देखाइरहेका बालेन शाह जस्तालाई समेट्न छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली बोक्नु मै रास्वपाले गलत गरिरहेको ठम्याइ छ ।
हुन पनि बालेनमाथि आगामी निर्वाचनबाट संगठनसहित आउनुपर्ने दवाव बढ्दो छ भने लामिछानेले समेत स्वतन्त्रतर्फबाट निर्वाचन जितेका मेयरहरूलाई रास्वपामा सदैव बाटो खुला रहेको बताँउदै आएका छन् । यसले उनले स्थानीय तहमा गरेको कामलाई क्यास गर्न सकिने तथा यसले तल्लो तहसम्म संयन्त्र विकास हुने फाइदा रास्वपालाई हुनेछ ।
त्यस्तै राजनीतिक विकल्प बन्न बालेनलाई पनि संगठन आवश्यक छ भने त्यसको पूर्ति रास्वपाले गर्न सक्ने अवस्था छ । दुवै संघीयताको विषयमा प्रदेशबारे सोच्नुपर्ने लाइनमा छन् भने पुरानाबाट केही नहुने भाष्य निर्माणका लागि परेका छन् । लोकप्रियताका हिसाबले समेत रवि बालेन थोरै तलमाथि मात्रै देखिँदा विराजभक्त श्रेष्ठ, गणेश कार्की जस्ता रास्वपाको नेताहरु बालेनसँगै नजिक भएका पात्रका रुपमा चिनिन्छन् ।
यसलेसमेत रवि बालेनबीच पुलको काम गर्न सक्ने अवस्था रहँदा बालेनलाई कहिलेसम्म महागरको प्रमुखमात्रै बन्ने भन्ने प्रश्नसमेत छ । उनले नयाँ पार्टी खोले काठमाडांैका १० वटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरे पनि त्यो संसदीय राजनीतिमा पर्याप्त हुन नसक्ने अवस्था छ । यी सबै सम्भावनालाई मूर्तरुप दिनु पर्ने निष्कर्षमा रास्वपा महामन्त्री डा.मुकुल ढकाल छन् ।
तर समस्या भने रवि बालनेको व्यक्तित्वमै छ । कार्यकारी पदमा रहेका बालेनले आफूलाई काम गर्ने व्यक्तिका रुपमा चित्रित गर्दा सुकुम्बासी हटाउनेदेखि धेरै विषयमा गृहमन्त्री रहेका लामिछानेले साथ दिन सकेका छैनन् । जसले उनी पुरानाकै गुलाम हुन पुगेको बुझाइमा बालेन देखिन्छन् । त्यस्तै प्रश्नको घेरामा रहेका रविलाई सभापति आफूले किन मान्नुपर्ने भन्ने घमण्ड उनमा देखिँदा गनाउन थालेको रास्वपा बोकेर कहिँ नपुगिने अर्को बुझाई समेत बालेन पक्षधरमा देखिन्छ ।
अर्थात बालेनको व्यक्तित्वमा कुनै प्रश्न उठेको छैन भने प्रत्यक्ष निर्वाचित भएकाले स्वतन्त्र रुपमा काम गर्ने छुट उनले पाएका छन् । पार्टी नै खोल्न परे पनि हर्क साम्पाङदेखि गोपी हमाल समेट्न सके त्यो बढी स्वभाविक हुने अवस्था छ ।
जसले स्थानीय तहमा काम गरेकाहरुको गठजोड मात्र नबनेर तल्लो तहसम्म संयन्त्र भएको पार्टी निर्माण हुने सम्भावनासमेत यसले जिउँदो राख्नेछ । तर विकल्पको शक्तिका रुपमा संगठित नै भएर आउने वा नआउनेमा भन्नेमा बालेन अहिलेसम्म प्रष्ट देखिएका छैनन् । जुन मौनतालाई ढिलोचाँडो दलको विकल्प संगठित दल नै हुनु पर्ने बाध्यताले तोड्ने सम्भावना पक्का हुँदा शेर–शेर एउटै जंगलमा रहँदैनन् धेरैबेर, भन्ने उखानसमेत उनीहरुमा लागु हुन्छ ।
हुन त रवि पार्टी चाहन्छन् कि व्यक्तिगत सफलता ? भन्ने नै निर्धारण हुन सकेको छैन । त्यसमाथि सञ्चारकर्मको पृष्ठभूमिका कारण मिडियाबाट भाग्न सक्ने अवस्थामा समेत उनी छैनन् । जहाँ रवि निराशा बेचेर र बालेन आशा देखाएर आएको शक्तिकै रुपमा चित्रित हुन थालेका छन् ।
यसलेसमेत उनीहरुको ग्रह नमिल्ने देखिँदा पार्टी बनाएपछि कसैको कुरा नसुन्ने छुट बालेनले पनि पाउने छैनन् । जसले यी दुई शक्तिका रुपमा व्याख्या गरिएका व्यक्तिहरु एक ठाँउमा उभिने सम्भावना कम हुँदा पार्टीको क्षति न्यूनीकरण नै गर्नु रास्वपाका लागि बुद्धिमता पूर्ण हुन्छ ।
प्रतिक्रिया