देश

चुरेलाई संरक्षित क्षेत्र घोषणा गरियोस् : सांसद झा


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नरहेको बताएका हुन् ।

उनले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गरे । त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताए ।

झाले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘तराईका लागि चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ । यसको संरक्षण आवश्यक छ ।’