Breaking

बालेन पैसा र बैंसले मात्तिए जस्तो छ : सांसद पूर्णबहादुर तामाङ


काठमाडौँ— नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले काठमाडौं महानगरपालिकालाई जिम्मेवारी कम भएको बताएका छन् ।

महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरे । आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीलाई लिएर प्रश्न उठाए ।

महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’, सांसद तामाङले भने । यहीँनेर उनले दोहोरी गीत सम्झिए । ‘एउटा गीत छ–कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन् । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ’, तामाङले भने ।

जिम्मेवारी कम भएकाले यस्तो भएको भन्दै उनले महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक रहेको बताए । ‘यस (महानगर)लाई एउटा काम (महानगरभित्रको विकास, खानेपानी आदिको सबै काम गर्ने जिम्मेवारी) जम्मा लगाइदिन पायो भने बैंसले पनि मात्तिदैँन, पैसाले पनि मात्तिदैँन’, उनले भने ।

तीन तहको सरकारबीच समन्वय नहुँदा काठमाडौंको विकास सही दिशामा अगाडि बढ्न नसकेको उनले दोहोर्‍याए । उनी भन्छन्, ‘काठमाडौं महागरपालिकाका ३२ वटा वडामा सडक विभागले एउटा काम गरेर हिँडेको छ । कालोपत्रे गरेर हिँडेको छ । नगरपालिकाले एउटा काम गरेर हिँडेको छ । नगर विकासले एउटा काम गरेर हिँडेको छ ।’

काठमाडौं महानगरमा संघीय सरकारले बाटो, खानेपानी, विद्युत् आदिमा कामै नगर्ने र यसको सम्पूर्ण जिम्मेवारी महानगरलाई दिनुपर्ने उनको प्रस्ताव छ । उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु– यो ३२ वटै वडामा नेपाल सरकारले कुनै पनि बजेट नदिने । ३२ वटै वडामा नगरपालिकाले नै खानेपानी, फुटपाथ, ढल र कालोपत्रेको काम गर्ने गरी जिम्मा लगाउन सकिन्छ ।’ काठमाडौं महानगरले समेत यस किसिमको जिम्मेवारी खोजेकाले दिन सकिने उनको सुझाव छ ।