Breaking

अर्याल–सुवेदी भिडन्त, मुख्यसचिव बन्न ओली–प्रचण्डको चाकडी


काठमाडौँ – भ्रष्टाचार मुद्दामा मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बित भएपछि देशको प्रशासन संयन्त्र निमित्तको भरमा छ । प्रधानमन्त्री कार्यालयका लिलादेवी गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हाली रहेकी छन् । मुख्यसचिव पद लामो समय रिक्त राख्न नहुने दवावमा रहेको सरकार नयाँ मुख्यसचिवको खोजीमा छ ।

वरीयताक्रममा पालो कुरेर बसेका सचिवहरु मुख्यसचिवका लागि तीव्र दौडधुपमा छन् । सिंहदरबारभित्र मुख्यसचिवको दौडमा कोको छन् ? कसको सम्भावना कति छ ?

सचिवहरु तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल मुख्यसचिव पद आफ्नो पोल्टामा पार्ने प्रतिस्पर्धामा छन् । मुख्यसचिवका लागि सचिवहरुको दौडधुपले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको सरगर्मी ह्वात्तै बढेको छ । पहिलो नम्बरमा तोयानारायण ज्ञावाली छन् । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगका सचिव हुन् । दोस्रो नम्बरमा रहेका सुवेदी सञ्चार, भट्टराई महिला बालबालिका र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा छन् ।

निमित्त मुख्यसचिव लिलादेवी गड्तौलादेखि अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा छन् । निजामती सेवाको सबैभन्दा उच्च पद, सरकार र प्रधानमन्त्रीको प्रथम सल्लाहकार मुख्यसचिवमा सबैको आकांक्ष हुनु स्वभाविक भए पनि कतिपय सचिवहरु शक्ति केन्द्रकै आडमा कसैगरी मुख्यसचिवको मुकाम हासिल गर्न सक्रिय छन् । मुख्यसचिवको दौडधूपमा सबैभन्दा बढी चर्चामा गृहसचिव एकनाराण अर्याल र सञ्चार सचिव रामकृष्ण सुवेदीको छ ।

वरीयतामा पहिलो नम्बरमा रहेका तायानारायाणलाई उछिन्दै दोस्रो नम्बरमा रहेका सञ्चार सचिव रामकृष्ण सुवेदी र चौथो नम्बरमा रहेका गृहसचिव एकनाराण अर्यालले मुख्यसचिव बन्न शक्ति केन्द्रसँगको लबिङ बढाएका छन् । नेकपा एमाले निकट अर्याल अध्यक्ष केपी शर्मा ओलीको आड र गृहमन्त्री रवि लामिछाने समेतको साथले मुख्यसचिव बन्ने दौडमा छन् । रविसँग समेत राम्रो सम्बन्ध बनाएका अर्याल ओली रिझाएर मुख्यसचिव बन्न तीव्र लबिङमा लागि परेका छन् । वरीयतामा दोस्रो नम्बरमा रहेका रामकृष्ण सुवेदी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् । प्रधानमन्त्री प्रचण्ड र माओवादीबाट सञ्चारमन्त्री रेखा शर्माको शक्ति प्रयोग गरेर वैकुण्ठको ठाउँमा पुग्ने दौडमा उनी छन् ।

यता सचिव दिनेश भट्टराई गठबन्धन निकट मानिन्छन् । उनी पनि लबिङमा रहेको चर्चा छ । नेपालको निजामती इतिहासमै पहिलो पटक निमित्त मुख्यसचिव बनेका लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउनु पर्ने बहस पनि चलिरहेको छ । नेतृत्वले वरीयता मिचेर आफू अनुकूल व्यक्तिलाई नै मुख्यसचिव बनाउने प्रवृत्ति विगतदेखि नै हाबी छ । अवकाश पाउन तीन दिन बाँकी रहँदा मुख्यसचिव बनेका वैकुण्ठ अर्यालभन्दा अगाडि ३ मुख्यसचिवले कार्यकाल पूरा गरेका थिएनन् ।

आफैँ अफ्ठ्यारोमा रहेका प्रधानमन्त्री प्रचण्डले आफू निकटलाई नै मुख्यसचिव बनाउँछन् वा ओली फकाउन ओलीकै मान्छेलाई मुख्यसचिव दिन्छन् ? चासो बढिरहेको छ । यसअघि शंकरदास वैरागीलाई सल्लाहकार बनाएर वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाइएको घटना स्मरणीय छ । मुख्यसचिव त्यागेर सरकारको सल्लाहकारमा गएका शंकरदास अहिले बेलायतको राजदूत बन्न नपाएपछि चिढिएको अवस्थामा छन् ।

तर, विवादमा परे पनि आफ्नालाई काखी च्याप्ने प्रवृत्तिकै कारण भ्रष्टाचार प्रकरणमा मुद्दा परेपछि पनि वैकुण्ठ अर्यालको राजीनामा प्रधानमन्त्रीले नै अस्वीकार गरेका थिए । राजीनामा बोकेर बालुवाटार पुगेका अर्याललाई प्रचण्ड सरकारले उल्टै व्यवस्थापनका लागि राष्ट्रिय योजना आयोगमा विशिष्टिकृत पदको सिर्जना गर्ने निर्णय नै ग¥यो । यो परिदृश्यलाई नै नियाल्ने हो भने पनि नेतृत्वले आफू निकट व्यक्तिलाई मुख्यसचिव बनाउने निश्चित छ ।