Breaking

मुकुलले रवि गलाए ! ओली–प्रचण्डको सत्ताको आयु कति ?


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा बसिरहे पार्टी सकिने महामन्त्रीको समीक्षाका बीच यसले तरंग पैदा गरेको छ । रास्वपाले सरकार छाडे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्ने स्पष्ट गणित देखिँदा रास्वपाले सत्ता जोगाउने प्रचण्डका विकल्प र रास्वपाको मध्यमार्गी कदमबारे चासो बढेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले प्रतिवेदन ल्याएकै कारण प्रचण्डले उथलपुथल गरेको घटना ताजै रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीबाट त्यस्तै संकट आइपरेको छ । कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टसँग नमिल्ने प्रस्ताव लगेकै कारण एक हातमाथि उफ्रिएर बालकोट पुगेका प्रचण्डको सरकार छाड्न रास्वपाले प्रतिवेदन नै तयार पारेको छ ।

एमालेले कांग्रेसकै प्रकृतिका शब्दावलीहरु प्रतिवेदनमा समेट्दासमेत चुप लागेर सत्ता घिसारिरहेका प्रचण्डको रणनीति के हुन्छ ? भन्ने चासो बढ्दा रास्वपा सभापति रवि लामिछानेको आगामी कदमबारे पनि ध्यान खिचिएको छ ।

रविले भनेजस्तो महामन्त्री मुकुल ढकालले दिएको प्रतिवेदन र देखाइएका समस्या झारफुक नभई विशेषज्ञ डाक्टर कहाँ नै उपचारका लागि लैजानुपर्ने स्पष्ट रुपमा बताउँदा त्यसको उपचार भनेको सरकार छाड्नु नै हो । तर उनले जनता र कार्यकर्ताले दिएको सुझाव र देखिएका समस्याको चिरफर गर्छन् वा समस्या देखाउने डाक्टर मुकुलकै उपचार खोज्छन् त्यो चाहिँ प्रतिक्षाकै विषय बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक रास्वपासहितको समर्थनमा १५७ सांसदको समर्थनमा विश्वासको मत पाएका थिए । रवि लामिछानेले प्रचण्डलाई समर्थन गरेकै कारण एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तयार हुँदासमेत कांग्रेसले पूरक समीकरण बनाउन सकेको थिएन ।

यस्तो अवस्थामा रास्वपाले सरकार छोडे प्रचण्डलाई १३६ सांसदको मात्रै समर्थन कायम रहनेछ । अर्थात आफ्नो सरकार टिकाउन प्रचण्डसँग दुई विकल्प बाँकी रहने छन् । पहिलो विकल्प हो– स्वतन्त्र २ सांसदसहित आम जनता पार्टीका प्रभु शाहलाई पनि सरकारमा सामेल गराउने ।

र, त्यो पनि नभए अन्तिम विकल्प हो । आफ्नो जादूयी ३२ अंकको पावर देखाउँदै अर्को अस्थीरता देखाउने र कांग्रेसकै कित्तामा फर्किने । तर, दोस्रो विकल्प प्रचण्डका लागि सहज छैन । किनभने प्रचण्डलाई भित्तामा पु¥याउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री मान्न तयार नभएका देउवा प्रचण्डको अढेस लाग्नका लागि मात्रै सत्तापक्ष हुने लाइनमा छैनन् ।

यति भनिरहँदा प्रतिवेदन आए पनि रास्वपाले सरकार छाड्छ कि छाड्दैन भन्ने अर्को प्रश्न पनि छ । किन भने केही दिनअघि मात्रै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले काम गर्न नसकिएकाले सरकार छाड्नुपर्ने भन्दै गोजीमा राजीनामा बोकेरै हिँडिरहेको बताउँदा रविले भने आफूले काम देखाउने आधार तयार पारिरहेको दाबी गरेका थिए । यसलाई पार्टीकै कतिपय नेताले आफ्ना बदमासी लुकाउन रविले गृह छाड्न नचाहेको ?

पमा हेर्दा रविसामु आफू वा पार्टी कसलाई जोगाउने भन्ने दुई विकल्प छन् । हुन त गठबन्धनमा गडबडी रविले नछोड्दा पनि कायमै छ । किनभने मन्त्री हेरफेरदेखि बजेट सम्मैमा सत्तारुढ नेताहरुकै असन्तुष्टि छ ।
बजेटमा एमालेको असन्तष्टि, राजदूत भागबन्डाले पूर्ति गरे पनि मन्त्री मात्रै हेरफेर गर्ने वा मन्त्रालय नै फेर्ने भन्नेबारे एमाले र माओवादीमा मतभेद कायम छ ।

एमालेले साना मन्त्रालय मात्रै पाएकाले मन्त्रालय नै साँटफेर गर्नुपर्ने ओलीको लाइन र साना मन्त्रालयका मन्त्री मात्रै फेर्नुपर्ने प्रचण्डको लाइन देखिन्छ । उसले प्रचण्ड ओलीको दूरी बढेको र कांग्रेसले खेल्नसक्ने सम्भावना बढेजस्तो देखिए पनि व्यक्तिगत तवरमा उनीहरुको घनिष्टतामा कमी आएको छैन ।

रास्वपा महामन्त्रीको प्रतिवेदनमा वैकल्पिक शक्तिमाथि गरिएको आशा र सरकारमा गएर मतदातामाथि घात गरेको आशय छ । यसले रास्वपा अहिले साँच्चै गहिरो आत्म समीक्षाको बिन्दुमा रहेको देखाउँछ । बाहिर जति रन्किए पनि रवि स्वयं रक्षात्मक अवस्थामा रहेको भान पार्टीकै गतिविधिले देखाउँछ ।

रास्वपाले कार्यशैलीदेखि प्रदेश, संघीयता र संविधानबारे समेत स्पष्ट शब्दमा बोल्नुपर्ने आवश्यकता औँल्याइदा चुनौती उठाएरै सत्ता रोज्छ वा आत्मसमीक्षा गरेर संगठन ? यसका लागि निकट भविष्यलाई नियाल्न आवश्यक छ ।