Breaking

अध्यक्षमा माधव पक्का, महासचिवमा महाभिडन्त, झाँक्री र जगन्नाथ भिड्दै


काठमाडौँ – महाधिवेशनको मिति नजिकिएसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीभित्र आन्तरिक शक्ति संघर्ष तीव्र बनेको छ । सर्वसम्मत अध्यक्षमा दोहोरिने माधवको इच्छामा महासचिव घनश्याम भुसाल तगारो बन्ने भएका छन् । यससँगै महासचिव पद हत्याउन नेताहरुको हानथाप बढेको छ ।

महाधिवेशनको सम्मुखमा नेता–कार्यकर्तामा ध्रुवीकरण चुलिएको छ । एमालेबाट फुटेर बनेको पार्टीको पहिलो महाधिवेशन भएकाले सर्वसम्मत नेतृत्व चयन टुंग्याउने योजनामा रहेका अध्यक्ष नेपाल महाधिवेशन नजिकिएसँगै दवावमा छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा आगामी नेतृत्वको चर्चा र नेताहरुको दौडधुव तीव्र छ । नेतृत्व हत्याउन नेताहरुको हानथापले महाधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल आफैँ दोहोरिन चाहन्छन् ।

अध्यक्षमा माधवको निरन्तरता लगभग निश्चित जस्तै छ । यता नेतृत्वको दौडबाट पछि हटेको र महासचिव घनश्याम भुसाललाई समर्थन गर्न सहमति जनाएका भनिएका सम्मानित नेता झलनाथ खनालले भावी नेतृत्वमा आफ्नो नाममा सहमति हुने दाबी गरेका छन् । योसँगै एकीकृत समाजवादीको नेतृत्वमा अध्यक्ष नेपालसहित तीन जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

खनाल र भुसाल प्रतिस्पर्धामा उत्रिने भएपछि माधवमाथि चुनौती बढ्ने निश्चित छ । यता, पुस्तान्तरणको नारासहित दोस्रो तहका नेताहरुको बलमा कागतालीमा महासचिव बनेका महासचिव घनश्याम भुसाल महाधिवेशनमा अध्यक्ष नेपालसँग भिड्दैछन् ।

तर माधवका लागि खनाल र भुसाल दुवै त्यति भारी पर्ने देखिँदैन । माधवविरुद्ध विद्रोह भए पनि विकल्प नै बन्ने ल्याकत नेताहरुले देखाउन सक्ने अवस्था कमजोर छ । संसदको प्रतिनिधि नै अध्यक्ष हुनु पर्ने आवाज पार्टी पंक्तिमा छ ।

महासचिवमा दोहोरिनका लागि भुसालले अध्यक्षमा बार्गेनिङ चलाएको पनि चर्चा छ । अध्यक्षपछि महासचिवको मुकाममा पुग्न नेताहरुको लर्को नै लागेको छ । पाए अध्यक्ष नत्र कसैगरी महासचिवमा दोहोरिने दाउमा भुसाल छन् भने वर्तमान उपमहासचिव जगन्नाथ खतिवडासमेत महासचिवको दाबीबाट टसमस नगर्ने पक्षमा छन् ।

खतिवडा र प्रकाश ज्वाला भित्रभित्रै महासचिवको तयारीसहित दौडधुपमा छन । सचिव रामकुमारी झाँक्रीसमेत महासचिवको आकांक्षी रहेको चर्चा छ । नेतृत्व हत्याउन नेताहरुको दौडधुप तीव्र बन्दा सर्वसम्मत ढंगले नेतृत्व चयन हुनु पर्ने दबाब पनि उत्तिकै छ । पार्टी विभाजनपछिको पहिलो महाधिवेशन र अझै पनि एमालेसँग छुट्टिनुको औचित्य पुष्टि गर्न असफल माधव आफैँ अध्यक्षमा दोहोरिन सर्वसम्मत नेतृत्व चयन गर्ने पक्षमा छन् ।

देश भरिबाट झन्डै १९ सय प्रतिनिधि सहभागी हुने एकीकृत समाजवादीले जनाएको छ । जसमा नेपाल, खनाल र भुसालको प्रतिनिधि कित्ताकाट गर्दा नेपाल र भुसालको टक्कर हुने देखिन्छ । भुसाल पक्षले कोशीबाहेक सबै प्रदेशबाट आफ्ना बहुमत प्रतिनिधि आएको दाबी गरेको छ । कोशी र बागमती बाहेक अन्य पाँच प्रदेशमा आफ्नो पक्षमा बहुमत प्रतिनिधि रहेको नेपाल पक्षको दाबी छ । माधवको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छ वा चुनाव हुन्छ तत्काल अनुमान लगाउन कठिन छ ।

अध्यक्षको प्रतिस्पर्धामा महासचिव भुसाल र महासचिव पदमा अरु आकांक्षीहरुको लर्कोले महाधिवेशन प्रतिस्पर्धात्मक हुने देखिएको छ । सर्वसम्मत बन्ने माधवको चाहनाकै बीच महाधिवेशनको मुखमा नेताहरुबीचको मनमुटाव पनि छताछुल्ल भएको छ ।

अझै एमालेसँग शैद्धान्तिक धार स्पष्ट गर्न नसकेको एकीकृत समाजवादीमा अहिलेदेखि नै चर्को गुटबन्दीले गडबढी चुलिएको छ । पार्टी बनाउन नेपाललाई बोकेकाहरु नै अहिले उनीविरुद्ध उत्रिएका छन् । यद्यपि, एकीकृत समाजवादीको सचिवालय बैठकले सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको छ ।

वरिष्ठसहित ७ उपाध्यक्ष हुनेछन् । यो निर्णय अध्यक्ष नेपालमाथि बढ्दो चुनौतीलाई ध्यानमा राखेर नेताहरुको व्यवस्थापनका लागि भएको अनुमान गरिएको छ । यस्तै केन्द्रीय कमिटी २९९ सदस्य बनाउने पनि निर्णय भएको छ ।

महाधिवेशनमा यस किसिमको होडबाजी तथा प्रतिस्पर्धी देखिनुलाई कम्युनिस्ट पार्टीहरुले पनि लोकतान्त्रिक अभ्यास भन्ने गरेका छन् । यद्यपि, यो अभ्यासलाई उनीहरुले लोकतान्त्रिक पद्धती अनुसार कार्यान्वयन गर्छन् वा सर्वसम्मतको नाममा टिके प्रथालाई अगाडि बढाउँछन्, हेर्न बाँकी छ ।