Breaking

भिडन्तमा उत्रिए बाइडेन–ट्रम्प, टेलिभिजन डिबेटको तरंग


यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२० को अघिल्लो चुनावमासमेत एकअर्काविरुद्ध प्रतिस्पर्धी बनेका जो बाइडेन र डोनाल्ड ट्रम्प नै यसपटक पनि भिड्ने भएका छन् । यी दुई प्रत्यासीबीच चुनावी भिडन्त हुनु अगाडि राष्ट्रपति निर्वाचनको बहस हुनेछ । जुन बहस नै अमेरिकाको आगामी राष्ट्रपति को हुने ? भन्ने निर्णायक सावित हुनेछ ।

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । नोभेम्बरमा हुने चुनावमा अघिल्लो चुनावमा झै दुई प्रभावशाली जो बाइडेन र डोनाल्ड ट्रमबीच नै महाभिडन्त हुँदैछ । हरेक चार वर्षमा हुने चुनावमा ७० वर्षयता पहिलोपटक अमेरिकी निर्वाचनमा अघिल्लो निर्वाचनकै झल्को दिने गरी उही दुई प्रतिस्पर्धीबीच चुनाव हुने पक्का भएको हो ।

सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट लडेका बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गरेका थिए । यस पटक ट्रम्पले बदला लिने सम्भावना छ । तर यसका लागि भने दुई जनाबीच राष्ट्रपतिको बहस हुनुपर्ने छ । एटलान्टामा बिहीबार राति दुई जनाबीच बहसको भिडन्त हुँदैछ ।

बिहीबार राति यी दुई उम्मेदवारले टेलिभिजन डिबेटमा भाग लिएर मतदातामाझ आफ्ना अडान स्पष्ट पार्दै छन् । यसपटक गर्भपतन, मेक्सिकोतर्फको सीमाबाट बढेको आप्रवासीको आगमन, गाजा युद्ध र युक्रेन युद्ध प्रमुख चुनावी मुद्दा हुने छन् । यी मुद्दा बाइडेन र ट्रम्पबीचको बहसमा प्रमुख रूपमा उठ्ने छ ।

अघिल्लो चुनावमा प्रमुख १० मुद्दामा नपरेको गर्भपतनको मुद्दा यसपटक पहिलो नम्बरमा छ । विशेषतः सन् २०२२ जुन २४ मा कन्जर्भेटिभ न्यायाधीशको बाहुल्य रहेको अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारलाई दिइएको संवैधानिक संरक्षण खोसेपछि यस्तो स्थिति आएको हो । देशभरका डेमोक्र्याटको सरकार रहेका राज्यले गर्भपतनलाई थप सहज बनाएका छन् । यसमार्फत उनीहरू महिला मतदातालाई राष्ट्रपति बाइडेनतर्फ तान्न खोजिरहेका छन् ।

सेन जोन एफ केनेडी र उपराष्ट्रपति रिचर्ड निक्सनले सन् १९६० मा पहिलो पटक टेलिभिजन बहसको आयोजना गरेका थिए । त्यसयता चुनावको मुखमा राष्ट्रपतिका उम्मेदवारबीच बहस गर्ने प्रचलन जारी छ । ट्रम्प र बाइडेनबीच २०२० को चुनावी अभियानपछि उनीहरूबीच अन्तिम झगडादेखि बहस हुने भएको हो । इतिहासको सबैभन्दा चुनौतीपूर्ण बहस शत्रुलाई कसरी ह्यान्डल गर्ने भन्ने रणनीति बनाएर बहसमा उत्रिने छन् । ‘चुनाव जति नजिक हुन्छ, बहसले प्रभाव पार्ने सम्भावना त्यति नै बढी हुन्छ ।’

एक अर्कालाई कसरी पाखा लगाउने र सत्तामा पुग्ने रणनीतिसहित बहस गर्नेछन् । यो बहसले आगामी राष्ट्रपति को हुन्छन् ? भन्ने लगभग निर्धारण गर्ने छ । तर देशका जनताले आफ्नो बहुमूल्य मत बाइडेनलाई दिएर लगातार दोस्रो पटक राष्ट्रपति बनाउँछन् वा यसपटक पूर्व राष्ट्रपति ट्रम्पलाई निर्वाचित गराउछन् ? त्यो भने चुनावको अन्तिम नतिजाले निर्धारण गर्नेछ ।