काठमाडौँ— मनसुन सक्रिय भएसँगै देशभर विपदजन्य घटनामा वृद्धि भएको छ । बाढी, पहिरो र चट्याङ जस्ता प्राकृतिक विपद्का घटनामा परी पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढी पहिरोमा परी १० जना घाइते भएका छन् भने दुई जना बेपत्ता भएका छन् ।
लमजुङको क्व्होलासोथरस्थित बगुममा अविरल वर्षाका कारण पहिरोमा परी तीन घर पुरिँदा एकै परिवारका चार जनाको मुत्यु भयो । मंगलबार राति पहिरोले तीन घर बगाउँदा उनीहरु बेपत्ता भएकामा प्रहरी र स्थानीयले भग्नावशेषबाट शव निकालेका हुन् । पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको हो । त्यस्तै लमुजुङकै दोर्दी धैरैनीमा घरमाथि पहिरो खस्दा एक जनाको ज्यान गएको छ । पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको र अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण लमजुङ–बेशीसहर मनाङ सडक पूर्णरुपमा अवरुद्ध छ ।
कास्कीको मादी चितेपानी र पोखरा आरुपाटामा पहिरोले घर पुरिँदा दुई जना, ओखलढुंगा चिसंखुगढी थुम्किमा गोठ पुरिँदा एक जनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा गौशालास्थित बुढिखोलोमा माछा मार्ने क्रममा बाढीमा परि एक जनाको मृत्यु भएको छ । सुनसरी रामधुनी मानपुर, झापाको ठेकिटोल खेतवारी र कमल गाउँपालिका समाईगढमा चट्याङमा परी एक–एक जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी तीन बाहिरी गाम दाङजामा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्याङका घटनाबाट १२ जनाको ज्यान गएको गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ । नेपाल प्रहरीका अनुसार देशभर ४५ वटा विपदका घटना भएका छन् । विभिन्न ठाउँमा भएका घटनामा बेपत्ताको खोजी कार्य जारी छ ।
देशभर १८ ठाउँमा पहिरो गएको छ । बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले विभिन्न ठाउँहरूमा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन भनिएको छ । अविरल वर्षापछि देशका विभिन्न स्थानका सडकहरु अबरुद्ध बन्न पुगेका छन् । बुधबार बिहान पहिरो जाँदा जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीका सडक अबरुद्ध भएका हुन् । विपदका घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो जनधनको क्षति हुँदा पनि सरकारले भने अहिलेसम्म यससम्बन्धमा कुनै पनि प्रतिक्रिया दिएको छैन । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा पछिल्लो २४ घण्टामा भएको जनधनको क्षतिबारे तथ्यांक सार्वजनिक गरे पनि पीडितको उद्धार, राहत तथा व्यवस्थापनका लागि कुनै जानकारी दिएको छैन । बाढी पहिरो प्रभावित क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहले काम गरिरहेका छन् । तर संघ सरकार भने अहिलेसम्म मुकदर्शक बनिरहेको छ ।
प्रतिक्रिया