Breaking

भिडेर नथाक्ने गगन, ओली–प्रचण्ड–देउवासँग सिंगल सिंगल, कसरी आउँछ ०८४ मा बहुमत ? (भिडियोसहित)


काठमाडौँ— नेपाली कांग्रेस पछिल्लो केही समयता निश्क्रिय जस्तै छ । विभाग, समिति र भ्रातृसंस्था पनि लथालिंग छन् । यस्तो समयमा महामन्त्रीहरुबाट दबाबको आवश्यकता महसुस गर्नु सामान्य नै हो । तर पार्टी नै सुनसान रहेका बेला चलायमान बनाउन भूमिका नखेले पनि महामन्त्री गगन थापा भने केही सार्वजनिक कार्यक्रममा ०८४ सम्म पार्टी सवल बनाउँदै निर्वाचनमा अभूतपूर्व सफलता निकाल्नुपर्ने बताइरहेका छन् ।

पछिल्लो केही समययता कांग्रेस सुस्ताउँदा सक्रिय छन् महामन्त्री गगन थापा । हुन त महामन्त्री सक्रिय हुनुलाई पार्टी नै सक्रिय भन्न पनि सकिएला । तर पार्टी सक्रिय बनाउन संस्थापन पक्षलाई दबाब त गगनले पनि दिन सकेका छैनन् । तर, सार्वजनिक कार्यक्रम र कार्यकर्तास्तरमा केही चलायमान भने देखिएका छन् । उनको एकमात्रै जोड हो– ‘२०८४ सम्म प्रतिपक्षमै बसौँ सरकारको ‘स’पनि उच्चारण नगरौँ ।’ हुन त आफ्नै पार्टीको संस्थापन र समकालीन नेताहरुसँग एक दशकदेखि लडिरहेका छन् गगन थापा । कांग्रेसको अधिकांस तप्का कम्युनिस्ट टुक्र्याए मात्रै कांग्रेस बलियो हुन्छ भन्ने लाइनमा रहदा गगन भने सबैको गठबन्धनका विरुद्ध कांग्रेस एकल रुपमा यही निर्वाचन प्रणालीबाट १०० सिटसम्म ल्याउनसक्ने दाबी गर्छन् ।

महामन्त्री थापाले कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने आधारसमेत देखाउने गरेका छन् । उनले २०४८ सालको निर्वाचनलाई देखाउने गरेका छन् । प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो संसदीय निर्वाचनमा कांग्रेसले त्यसबेला प्रतिनिधिसभाका २०५ मध्ये ११० सिट जितेको थियो । त्यसबेला जनआन्दोलनको नेतृत्वकर्ता शक्तिका रुपमा कांग्रेस उदाएको थियो । तर, त्यस्तो लहर पार्टीको यही अवस्थाले आउन सक्ने सम्भावना भने निकै कम छ । खैर, त्यो हैसियतमा कांग्रेसलाई पु¥याउन भ्रातृ तथा सुभेच्छुक संस्थालाई अझ सक्रिय बनाउने र पाँचदेखि आठ लाख मत थप्ने रणनीतिमा गगन छन् । पार्टीको मूलधारले उनलाई नपत्याए पनि त्यो आधार तयार पार्न गगन लाग्न खोजेको चाहिँ देखिन्छ । जसका लागि आफूमाथि लागेका आरोपहरुमा छानविनका लागि खुला चुनौती दिनेदेखि अरु नेताहरुमाथि छानविन गराउन सार्वजनिक महत्वको प्रस्ताव नै संसदमा दर्ता गराएका छन् । उनले पार्टी शुद्धीकरणमा लाग्नु पर्ने जोड दिँदै आएका छन् ।

अहिले उनको लडाईं नै नेतृत्वसँग छ । मूलधारले चाहिदा प्रयोग गर्ने तर गगन चम्किने संकेत देखिएपछि ओझेलमा पार्ने क्रम बढ्दो छ । यसको पछिल्लो उदाहरणका रुपमा सहकारी प्रकरणलाई पनि लिन सकिन्छ । मुद्दा उठाउनका लागि गगनलाई पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमै बोलाए । तर, मुद्दा परिपक्व बन्दै जाँदा उनकै अडानलाई कमजोर बनाउन विपक्षीतिर मिले । हुन त उनले विगतमा राजतन्त्रविरुद्ध आवाज उठाउँदा आफ्नै पार्टीको कारवाही भोगे । आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्रीको चुवान लडे । संसदीय दलका लागि देउवासँग लडे, देउवाबिरुद्ध लड्दा आरजुसँग समेत लडे । हुन त गोदावारीको महासमिति बैठकमा कांग्रेस एक्लै चुनाव लड्ने भन्दै लिइएको सैद्दान्तिक अडानले सत्तामा भएको पार्टी सडकमा पुग्यो । आफ्नै विश्वासपात्रले पार्टी छोडे, उनलाई समेत नयाँ दलमा जान धेरैले सुझाए । नयाँ दलहरुको विरोध गर्दा सामाजिक सञ्जालको गाली खाए । जसले गगनलाई पार्टीभित्रै नीति र रणनीति नबुझेको आरोप लाग्ने गरे पनि थकित देखिएका छैनन् ।

गगन पार्टीको महामन्त्री भएका कारण उनको बोलीलाई नै पार्टीको बोली मान्न सकिन्छ । तर, उनले राख्ने गरेका अडान र विचारमा कांग्रेस स्वयं एक हुन सक्दैन । समर्थन जनाउन पनि सक्दैन । त्यसमाथि संस्थापनलाई दबाब दिने इतरपक्ष समेत अहिले उनको बोलीमा लोली मिलाउन चाहँदैन । त्यसलाई कतिपयले गगन र शेखरको टकरावका रुपमा बुझ्ने गरेका छन् । पार्टीमा देउवाविरुद्ध लड्न खोज्दा इतरपक्षकै सांसदहरुको समर्थन गगनलाई रहने गरेको छैन । पटक–पटक देश दौडाह गरेर पार्टीलाई जनतासँग जोड्न खोज्दासमेत एकै कित्तामा रहेका भनिएका शेखरलाई देउवाले भागबन्डाको टुनामुना लगाइदिन्छन् । यसका बाबजुत पनि व्यक्ति भिडेर कांग्रेस कति सुध्रिन्छ ? त्यो भने हेर्न बाँकी छ ।