Breaking

मनसुनजन्य विपद्‌बाट १७ दिनमा २८ जनाको मृत्यु


काठमाडौँ— नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्‌बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ ।

पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २५ घरमा पूर्ण क्षति भएको छ । १० घरमा पहिरोले आंशिक क्षति पुर्‍याएको छ । पहिरोले संखुवासभामा एक, ताप्लेजुङमा पाँच, ओखलढुङ्गामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ ।

पहिरोबाट मात्रै ६९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । चट्याङले १७ लाख ७६ हजार रुपैयाँको क्षति गरेको गृह मन्त्रालयले जनाएको छ ।

बाढीका कारण मोरङमा एक जनाको मृत्यु भएको छ भने सप्तरीमा दुई जना घाइते भएका छन् ।