Breaking

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न एमाले नेताहरूले गरे गृहमन्त्रीलाई आग्रह


काठमाडौँ— नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ।

आज नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो।

सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौं लगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ।

‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिइ आएको वृद्ध भत्ता लिन पाइएन । यो ज्येष्ठ नागरिकहरुको पीडाको विषय भयो । यसलाई व्यवहारिक गर्नको लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ । गृह प्रशासनले पनि यसलाई सहजीकरणको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो,’ नेता श्रेष्ठले भने।

वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरुले माग गरेको उनले बताए।

‘गृहमन्त्रीले हाम्रो कुरालाई अत्यन्त सकारात्मक ढंगले लिनुभएको छ । कुनैपनि हालतमा व्यवहारिक रुपमा समस्या उत्पन्न हुन नदिने गरी सुझावलाई कार्यान्वयन गर्छु भन्नुभयो,’ नेता श्रेष्ठले भने।