Breaking

कमेडियन हुन् कि माननीय ? भाइरल भेरिएन्टको बिगबिगी, हैसियत भुलेरै ठूला कुरा


काठमाडौँ – संसद जनताका आवाज उठाउँदै सरकारलाई खबरदारी गर्ने ठाउँ हो । तर, पछिल्लो समय सरकारलाई खबरदारीभन्दा बढी कसलाई प्रश्न सोध्दा भाइरल भइन्छ र कुन शब्द प्रयोग गर्दा चर्चा कमाइन्छ भन्नेमा केही सांसदहरुको ध्यान छ । को हुन् यस्ता भाइरल माननीयहरु ?

हास्य टेलिश्रृंखलाहरुको खासै चर्चा नहुने यो समयमा विरक्तिएका नेपाली हसाउन सांसदहरुले भूमिका खेलिरहेका छन् । सर्वेक्षण गर्ने हो भने सम्भवतः धुर्मुस् सुन्तली नचल्नुको कारण यीनै सांसद हुन्थे होलान् । हुन त संसद भनेकै प्रश्न सोध्ने र जवाफ खोज्ने ठाउँ हो । तर, विषयबस्तुको गहनता, खोज र ओझ कम, फगत लोकप्रियताका लागि सांसदहरु अघि सर्दा उनीहरुका गम्भीर विषयसमेत कहिलेकाँही कमेडीभन्दा बढी हुँदैनन् ।

कमेडीले समेत व्यङ्ग्यात्मक रुपमा देशका समस्यामा प्रहार गर्न सक्छ । तर यी केही सांसदका अभिव्यक्ति एक दिन चर्चा पाउनेबाहेक केही हुँदैन । अहिले यो रोग वडाध्यक्षदेखि सांसद र मन्त्रीहरुसम्मै फैलिरहेको छ । यतिसम्म कि अहिले मुटु र फोक्सोको जाँच गर्ने थलोसमेत संसद नै बनेको छ ।

एक समय संसदमा जनताको आवाज उठाउने एक्ला वृहस्पति प्रेम सुवाल थिए । गहन अध्ययन र खोजपछि विधेयकमा संशोधन राख्नेदेखि नियमापत्ति जनाउने लगायत क्रियाकलापमा सुवाल सक्रिय हुन्थे । उनी अहिले पनि छन् । उनी अहिले पनि आफ्ना विषय त्यसैगरी राख्ने गर्छन् । भलै उनका अभिव्यक्ति बहुमत नहुुँदा यसै बिलाएर जान्छन् तर, विषयबस्तुमा ओझ चाहिँ हुन्थ्यो र अझै हुन्छ ।
तर अहिले केही भाइरल माननीय छन्– जो धेरै समय लोकरिझ्याँइका लागि मात्रै बोल्छन् ।

अर्का सांसद हुन ज्ञानेन्द्र शाही, जो सडकमा अभियन्ताका रुपमा चर्को बोलेरै संसदसम्मको यात्रा गरे । तर उनका बोली सांसदले प्रयोग गर्नेभन्दा अभियन्ताकै शैलीका हुन्छन् । संसद छिरेपछि पनि उनको बोल्ने शैलीमा अराजकता झल्किन्छ । कर्णालीका कुरा उनले उठाउने विषयमा शंकोच राख्ने ठाउँ छैन । तर कर्णाली नेपालकै भूभाग होइन भन्नेसम्मका प्रश्न चर्चाका लागि उठाइएका हुन् । यस्तै राजावादी र गणतन्त्रवादीहरुलाई संसदमै भिडाउने उनका गतिविधिसमेत फगत चर्चाका लागि गरिएका स्टन्ट हुन् भन्दा अत्युक्ति नहोला ।

यसै सूचीमा पर्छन् एमालेका सांसद रघुजी पन्त पनि । समानुपातिक कोटाबाट सांसद बनेका पन्तले विशेष गरी राष्ट्रवादी र कुटनीतिका प्रश्नहरु उठाउने गरेका छन् । तर, न उनका ती एजेण्डाहरुलाई पार्टीले अपनत्व लिन्छ न ती विषयहरुलाई पन्तले नै पार्टी कमिटी वा संसदीय दलमा उठाउँछन् ।


यसैको अर्को सूचीमा आउँछन् कांग्रेस सांसद रामहरि खतिवडा । अहिले मन्त्रीहरु बोलिरहँदा नियमापत्ति जनाउने, आकस्मिक र शून्य समयमा आवाज राख्नेदेखि उपसभामुखलाई जिस्क्याउनेसम्मका गतिविधि रामहरिले भ्याइसकेका छन् । जुन स्टन्टभन्दा माथि होइन भन्ने ठहरिन्छ ।

कांग्रेस छाडेदेखि आफू सच्चा देशभक्त र जनताको नेता बनेको दाबी गर्ने अमरेशकुमार सिंहलाई त सदनमा आफैँ नांगिनेदेखि अरुलाई लोकप्रिय विषय र शब्दले नंग्याउने बानी नै परिसक्यो ।

हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुन्छ जहाँ लिखित प्रश्नको लिखित रुपमै जवाफ आउँछ । तर, मंगलबार रुसी सेनामा भर्ती भएका नेपालीहरुबारे सांसदले जिज्ञासा राख्दै यो देशमा प्रधानमन्त्री छन् कि छैनन् भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री प्रचण्डले ‘यो देशमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ’ भन्नु पर्ने अवस्था आयो । केही दिनअघि मात्रै गृहमन्त्री रवि लामिछानेले पनि सहकारी ठगीमा आफूमाथि प्रश्न उठाएको भन्दै कांग्रेस नेताहरुका विगत खोतल्नतिर लागे । यसरी जवाफ माग्दा टपेर चुनौती दिने प्रवृत्ति झनै घातक हो ।

संसद प्रश्न गर्नकै लागि बनेको थलो हो र हुनु पनि पर्छ । तर पार्टीमा बोल्नै नसक्ने वा हैसियतसमेत नबनाएका सांसदहरु आवश्यकता र अध्ययनले भन्दा पनि लोक रिझ्याइँका लागि बोल्दा न त्यो बहसले सार्थकता पाउँछ, न उनीहरुका प्रश्नको उचित जवाफ नै आउँछ । जनताको आवाज उठाउने नाममा भद्धा मजाक र उटपट्याङले संसदको मर्यादामाथि नै प्रहार भइरहेको छ । ०००