Breaking

घेरिएका प्रचण्डको चर्को स्वर, बोली नै पिछे नेता तर्साउने, रघुजी र ज्ञानेन्द्र शाहीले जवाफ भेटे


काठमाडौँ – प्रतिनिधिसभा बैठकबाट मंगलबार बजेट पारित हुँदैगर्दा प्रधानमन्त्री र सांसदबीच नोकझोक नै चल्यो । देशमा सरकार भएको अनुभूति नभएको उल्लेख गर्दै सांसदले मुलुकमा प्रधानमन्त्री पनि छ ? भनेर प्रश्न उठाउन भ्याए । सांसदले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा ‘प्रचण्ड नामको प्रधानमन्त्री’ भएको भन्दै आफूलाई चिनाउनु पर्ने बाध्यता आइलाग्यो ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित ग¥यो । बजेट पारित गर्नु अघि प्रधानमन्त्रीका साथै विभिन्न मन्त्रालयका मन्त्रीले मन्त्रालयगत रुपमा सांसदले उठाएका प्रश्नको जवाफ दिएका थिए । मंगलबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीसँग नोकझोक नै चल्यो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले मुलुकमा सरकार र प्रधानमन्त्री भएको अनुभूति नभएको भन्दै प्रश्न गरे ।

यस्तै उनले रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भइरहेको छ ? भन्दै जिज्ञासा राखेका थिए । परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसद शाहीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएकाले नै युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको उल्लेख गरे । लगतै संसदमा केहीबेर हाँसोको फोहोरा नै चल्योे । प्रधानमन्त्रीले सरकारले पठाएर रुसी सेनामा नेपाली नगएको तर नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा भएको भन्दै नेपालीको रिहाइका लागि पहल गरिरहेको बताए ।

सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री दाहाललाई सरकारको कामप्रति कति सन्तुष्ट हुनुहुन्छ ? भन्दै प्रश्न गरे । उनले सरकारप्रति एमालेनै असन्तुष्ट रहेको बताउँदै जनता पनि उदासिन रहेको बताए । साथै नेपाल भारतको सीमामा नेपाली माथिको ज्यादती बढेको भन्दै सीमा विवाद, परराष्ट्रसम्बन्धमा कुटनीतिक पहल नदेखिएको विषय उठाए ।

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका साथै सत्ता पक्षकै सांसदहरुले प्रधानमन्त्री प्रचण्डमाथि प्रश्नको निसाना साधे । यो दृश्यले संसदमा सांसदहरुबाट प्रधानमन्त्री घेराबन्दीमा परेको देखिन्थ्यो । उनको कार्यशैलीमा प्रतिपक्षदेखि सत्तापक्षकै सांसदले असन्तुष्टि पोखे । सांसदहरुले लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा समेटिए पनि सो जमिन फिर्ता गर्न पहल नभएको बताए ।

एमालेकै सांसद सूर्य थापा क्षेत्रीले प्रधानमन्त्री माथि गुनासो राख्दै रुसी सेनामा अलपत्र परेका नेपालीको उद्धारका लागि लगातार ६ महिनादेखि पहल गर्दा पनि सुनुवाइ नभएको र सरकारलाई किन भोटे ताल्चा लगियो भन्दै व्यंग्य गरे । तर मंगलबारको संसद बैठकमा शीर्ष नेताहरुको उपस्थितिले प्रधानमन्त्री हौसिएका देखिन्थे । सत्तापक्षका सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपालको सीमाको विषयमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा राखेको बताए ।

उनले भारत भ्रमणको क्रममा १९५० को सन्धि, शान्ति तथा मैत्री सन्धि लगायत दुईपक्षीय सन्धिहरुलाई परिमार्जन, अध्यावधिक गर्न र सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिकहरुमार्फत् समाधान गर्ने समझदारी भइरहेको जवाफ दिए । नेपालको अन्तराष्ट्रिय सीमाबारे सदन, सदस्य, सरकारसहित सबै स्पष्ट र दृढ रहेको उल्लेख गर्दै अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको स्मरण गरे ।

बैठकमा अधिकांश सांसदहरुले राजदूत बर्खास्त गरिएकोदेखि नियुक्ति प्रक्रियामाथिनै आशंका व्यक्त गरे । सत्तापक्षकै माओवादी केन्द्रका सांसद अमललाल मोदीले राजदूत नियुक्ति प्रक्रिया संवैधानिक रुपमा नभएको बताए । उनले नियुक्तिमा एक्कल जाति तथा रङगभेद, किन गरेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । साथै सांसद अमरेश कुमार सिंह, पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेसका सांसद प्रकाशशरण महत लगायतका सांसदले ११ रातदूत एक्कै पटक किन हटाइयो भन्दै प्रश्न तेस्र्याएका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारले विभिन्न देशमा गरिएको राजदूत नियुक्तिमा कमीकमजोरी रहेको भए सच्याइने बताए

यस्तै प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई कार्यक्रम कार्यान्वयनमा सकेसम्म अनुदान नै लिने जानकारी दिए । प्रधानमन्त्रीले बीआरआई कार्यान्वयनको सम्झौता गर्ने तयारी भएको जानकारी गराएपछि सांसदहरुले अनुदान लिने कि ऋण भनेर सोधेका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले पहिलो प्राथमिकता अनुदान नै भएको बताएका हुन् । साथै उनले ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा छिट्टै सम्झौता हुने जानकारी दिए ।