Breaking

पोखरामा पृथ्वीराजमार्ग भासियो, सवारी एकतर्फी


काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका-१४ चाउथेमा पर्ने सडकखण्ड भासिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।

अविरल वर्षाले सडक भासिएपछि उक्त राजमार्ग भएर हिँड्ने सवारी साधनसमेत प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले सडक अहिले एकतर्फी खुलाइएको जानकारी दिए ।

सडकको दायाँ भाग अन्दाजी ५ मिटर लम्बाई, र १.५ मिटर चौडाइ सडक घट्टे कुलोको पानीले काटेर भत्काएको प्रहरीले जनाएको छ । उक्त स्थानदेखि करिब १० मिटर अगाडिको सडक खण्डमा दायाँतर्फको करिब ७ मिटर लम्बाइ र करिब १ मिटर चौडाइ भासिएको शर्माले बताए । ‘सडक मर्मत गरेर खुलाउने प्रयास भइरहेको छ । कुनै मानवीय क्षति छैन’, उनले भने ।

गत २४ घन्टामा पोखराको लामापाटन जल मापन केन्द्रमा १३४.२ मिलिमिटर वर्षा मापन गरिएको छ । २४ घन्टाको अवधिभित्र १२० मिलिमिटर वर्षा भएमा त्यसले क्षति पुर्‍याउने जोखिम रहन्छ ।