Breaking

किम जोङ उन रुससँग लागेपछि दक्षिण कोरियाको धम्की, परमाणु युद्धमा परिणत हुन सक्ने डर


काठमाडौँ – कोरिया एसियाको उत्तर–पूर्वमा अवस्थित एउटा भूमी–क्षेत्र हो । द्वितीय विश्व युद्धपछि कोरिया दुई देशमा विभाजित भयो । विभाजित भए पनि यी दुई देशबीचको सम्बन्धले बेलाबखत उग्ररुप लिने गरेको छ । दक्षिण र उत्तर कोरियाबीच उत्पन्न तनावले कोरियाली प्रायद्वीपमा हलचल नै मच्चिने गरेको छ ।

उत्तर कोरिया उत्तरमा अवस्थित छ । दक्षिण कोरिया दक्षिणतर्फ अवस्थित छ । उत्तर कोरिया एक कम्युनिस्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त्रिक पुँजीवादी मुलुक हो । कोरियाली युद्ध अन्तर्गत उत्तर कोरिया र दक्षिण कोरिया एक अर्कासँग भिड्न पनि पछि पर्दैनन् । अहिले रुस युक्रेनविरुद्ध युद्धको भुंग्रोमा छ ।

त्यसैले अमेरिकालगायत पश्चिमा मुलुकहरुबाट एक्लिएको रुस सहयोगीको खोजीमा छ । आणविक हतियार विकासको गतिमा अगाडि बढिरहेको उत्तर कोरियाले रुसलाई साथ दिने बचन नै दिएको छ । जसअन्तर्गत उत्तर कोरियाले हालै रुसलाई हतियार आपुर्ति गर्नेबारे सम्झौता नै गरेको छ । हतियार दिनेबारे मात्रै नभएर एक अर्कामाथि हमला भए त्यसको मिलेर प्रतिरोध गर्नेसम्मकै दुई देशबीच सहमति भएको छ ।

तर यो सम्झौता दक्षिण कोरियालाई मन परेको छैन । सम्झौताअनुसार उत्तर कोरियाले रुसलाई हतियार दिए आफूले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने भन्दै दक्षिण कोरियाले धम्की नै दियो । उत्तर कोरियालाई काउन्टर दिन दक्षिण कोरियाले युक्रेनलाई हतियार आपुर्ति गर्ने चेतावनी दिएको हो ।

दक्षिणको यो भनाइ सार्वजनिक भएलगत्तै रुसले भने आपत्ति प्रकट गरेको थियो । उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा दरार आएको विषय नयाँ होइन । सन् १९५० मा दुई देशबीच युद्ध भएको थियो । त्यस बेला अहिलेका महाशक्ति अमेरिका र तत्कालिन सोभियत संघ (हालको रुस), दोस्रो विश्वयुद्धपछि आफ्नै मुलुकको पुनर्गठनमा लागेका थिए । कोरियाली प्रायद्वीपको उत्तरी क्षेत्रमा सोभियत संघले कब्जा गरिराखेको थियो भने अमेरिकाले दक्षिणी क्षेत्रमा सैन्य सहयोग गरिरहेका थिए ।

१९५० जुन २५ मा सोभियत संघ र चीनको समर्थन लिएर उत्तर कोरियाले दक्षिणमाथि धावा बोल्यो । अमेरिकाले ‘कम्युनिस्ट’को हमलालाई सामना गर्न दक्षिण कोरियामा सेना पठायो । अमेरिकाको सहयोगमा दक्षिण कोरियाको राजधानी सियोल दुई महिनाभित्रै स्वतन्त्र पनि गराइएको थियो । तर, कोरियाली प्रायद्वीपलाई एउटै बनाउनका लागि आफ्नो सेना उत्तर पठाउने अमेरिकाको निर्णयमा चीनले कडा विरोध ग¥यो ।

सबै पक्ष एटम बम र परमाणु बमका कुरा गर्न थाले । तुरुन्तै कोरियाली प्रायद्वीपलाई एकीकृत गर्नका लागि तेस्रो विश्व युद्धसम्मका कुराहरु हुन थाले । तीन वर्षपछि तनाव केही मत्थर भयो, तर कुनै शान्ति सम्झौता भएन । यी दुई देशबीचको त्यो बेलाको उग्ररुप अहिलेसम्म पनि चलिरहेको छ । यस इलाकामा शत्रुता बढिरहेको छ । कुनै पक्षले सचेतता नअपनाउने हो भने कुनै पनि बेला युद्ध हुन सक्छ ।
यदि युद्ध भए कुन देशको विजयी होला ?

जानकारहरुका अनुसार पहिलो केही घण्टामा सयौंको संख्यामा क्षेप्यास्त्र छोडिन सक्छ र त्यसो भएमा दक्षिण कोरियाको राजधानी सियोल पूरै ध्वस्त हुनसक्छ । केहि मिनेटमै मिसाइल उत्तर कोरियाबाट सियोल पुग्छ र त्यहाँ रहेका साढे दुई करोड मानिसलाई तत्काल सुरक्षित स्थानमा सार्न पनि असम्भव छ । सन् १९५० को जस्तै उत्तर कोरिया चाहन्छ कि ऊ आफ्नो सेनालाई दक्षिणतर्फ पठाएर दक्षिण कोरियाको साथ सम्झौता गर्ने र कोरियाली प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा राख्ने । त्यतिबेला उत्तर चाहँदैनथ्यो कि अमेरिका दक्षिणको सहयोगका लागि आओस् । तर अहिले समीकरण यस्तो बनेको छ कि दक्षिणलाई अलिकति केही भए अमेरिका हेरेर बस्नै सक्दैन ।


अमेरिका दक्षिण कोरियालाई उत्तरमा कहिल्यै विलय हुन दिन चाहँदैन । जसका कारण उत्तर कोरिया अमेरिकी सेनाको दबावमा पर्ने सम्भावना हुन्छ । युद्ध अझै भयानक हुन सक्छ र यो परमाणु युद्धमा परिणत हुन जानेछ । यदि यी दुई देशको युद्धमा परमाणु हतियार प्रयोग भएमा तेस्रो विश्वयुद्ध निम्तिने सम्भावना निश्चित जस्तै छ । उत्तर र दक्षिणलाई उक्साउने र लडाउने शक्तिले आफ्नो फाइदा लुट्दै गर्दा विश्व नै युद्ध मैदानमा परिणत हुने सम्भावना प्रबल रहेको विश्लेषण हुने गरेको छ ।