Breaking

मन्त्रीले सांसद थर्काए, प्रदीपको निसाना प्रचण्डमाथि, ठूला अस्पतालमाथि स्वास्थ्यमन्त्रीको नजर


काठमाडौँ – प्रतिनिधिसभा वैठकले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट पारित गर्ने तयारी गरेको छ । साथै बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिए ।

बैठकमा महिला मन्त्रालय, पर्यटन मन्त्रालय, संघीय मामिला मन्त्रालय, उर्जा मन्त्रालय, अर्थ मन्त्रालय; गृह मन्त्रालय; परराष्ट्र मन्त्रालय; भौतिक पूर्वाधार मन्त्रालय; प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका हुन् । बैठकको शून्य र विशेष समयमा सांसदहरुले समसामयिक विषयमा सभामुखको ध्यानाकर्षण गराए ।

काँग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? भन्दै प्रश्न गरे । प्रधानमन्त्री दाहालको मन्त्रीहरुले आफूले भनेको नमानेको भन्ने भनाइमा प्रधानमन्त्रीय पद्धतीमा यो भन्दा लज्जास्पद कुरा के हुन्छ ? भन्दै उनले प्रश्न गरे । मन्त्रीहरुले आफ्नै क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको नेता पौडेलको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले महिला कर्मचारीको मातृत्व अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । लैङ्गिक समानताको नारा लगाए पनि कार्यस्थलहरू लैङ्गिकमत्री नभएको उनको गुनासो छ ।

वैठकमा सांसदको प्रश्नमा विभागीय मन्त्रीहरुले जवाफ दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको संसदबाट जानकारी गराए । उनले मिर्गौला सम्बन्धी रोगमा ४ लाख ५० हजारसम्म सहुलियत प्रदान भइरहेको समेत बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले महिला लक्षित अभिव्यक्तिमा आपत्ति जनाउँदै आत्मालोचना गर्न आग्रह गरिन् ।

गत जेठ ३१ गते सदनमा सम्बोधन गर्ने क्रममा केही सांसदहरुले महिलाहरू असक्षम र संकीर्ण सोच भएका हुन्छन् भन्ने अभिव्यक्ति दिएका थिए । मन्त्री चौधरीले संसद्बाटै यस्तो खाले अभिव्यक्तिप्रति आत्माआलोचना गर्न सम्बन्धित सांसदलाई आग्रह गरिन् ।

मन्त्री चौधरीले बाल सुधार गृहको स्थापना, सञ्चालन, महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार, पीडित र प्रभावितको लागि सेवा केन्द्र स्थापना लगायतका क्षेत्रमा पनि उचित बजेट विनियोजन गरेको बताइन् । बैठकमा सांसदहरुले असार ३ गते राति अछाम पञ्चदेव नगरपालिका–२ की किशोरीमाथि छाउगोठमा भएको बलात्कारको घटनाबारे अनुसन्धान गर्न जोडदार माग गरेका छन् ।