Breaking

सहकारी पीडित वृद्धाहरु सडकमा, औषधी खाने छैन पैसा, ८४ मा नेतालाई देखाइदिने चुनौती


काठमाडौँ – देशभरका सहकारी पीडितहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । दुःख गरेर जम्मा गरेको रकम सहकारी सञ्चालकले खाएर भागेपछि आफूहरुको बिचल्ली भएको र राज्यले पीडकलाई कारबाही नगरेको भन्दै उनीहरू न्यायका लागि आन्दोलनमा उत्रिएका हुन् ।

संसदीय छानविन विशेष समिति गठन पछि राजनीतिक रुपमा सहकारी पीडितको मुद्दा सकिए पनि सडकमा भने यो मुद्दा झन् पेचिलो बनेको छ । चितवन, बुटवल, पोखरा जस्ता ठूला सहरमा आन्दोलन गरिरहेका सहकारी पीडितले सोमबार संघीय राजधानी काठमाडौंको सडक पनि तताए । विगतमा पनि काठमाडौंमा ठूला–ठूला आन्दोलन गरेका सहकारी पीडित न्यायका लागि माइतीघर मण्डलामा ओर्लिए । रकम फिर्ता माग गर्दै आन्दोलन थलोको रुपमा माइतीघरलाई रोजेका बचतकर्ताहरु आन्दोलनबाटै आफ्नो पैसा फिर्ता हुने विश्वासमा छन् ।

आफूले दुःख गरेर सहकारीमा राखेको पैसा सञ्चालकले हिनामिना गरे भागेपछि पीडितहरूले स्वास्थ्योपचार समेत गर्न सकेका छैनन् । दैनिक खाइरहनु पर्ने औषधी सकिँदा उनीहरूसँग औषधी कित्रे पैसासमेत छैन । औषधी सकिएका खोल बाटोमा छरेर राखेका पीडितहरु उखरमाउलो गर्मीमा न्यायका लागि सडकमा भौतारिहेका छन् । चार लाख खर्च गरेर मुटुको भल्भ फेरेका दोलखा स्थायी घर भई हाल डिल्लीबजार बस्दै आएका कृष्णप्रसाद न्यौपानेको तीन लाख सहकारीमा डुबेको छ । ब्याज दिन्छु भन्दै लगेको पैसा अहिले साँवा नै खाई दिएपछि उनको बुढेसकालको सहारा पनि गुमेको छ ।

सदनमा प्रतिपक्षी नेपाली कांग्रेसले ठूलो रुपमा राजनीतिक मुद्दा बनाए पनि अहिले संसदीय छानविन समिति बनेसँगै सेलाएको छ । यसअघि सरकारी पक्षबाट पनि सहकारी पीडितलाई न्याय दिलाउनका लागि तालुकदार मन्त्रीहरू नै आन्दोलनमा गएर सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर, उक्त सम्झौता पत्र अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले पीडितहरूको राज्यबाट भरोसा उठेको छ । सरकारले सधैं ललिपप देखाएर पीडितलाई झुक्काई मात्रै रहेको पीडितले गुनासो गरिरहँदा यसको परिणाम आगामी निर्वाचनमा ७४ लाख सहकारी पीडितले देखाइदिने भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी र स्वतन्त्र लौरो अभियानबाट बाग्मती प्रदेशका सहकारी मन्त्री बनेका शैलेन्द्रमान बज्राचार्य पनि माइतीघर पुगेका थिए । आफू सहकारी पीडितको पक्षमा रहेको बताएका सांसद केसीले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको बताए । जीबी राईलाई पक्राउ गर्नै नचाहेको बताएका उनले गृहमन्त्री रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाउँदै राजनीतिक संरक्षणमा जीबी राई लगायतका ठगहरू लुकेको दाबी गरे ।