Breaking

बालेनको चलाखी, सुनिताले बजेट पढ्दा वडाध्यक्षहरु नै झुक्किए, माओवादी र एमालेका प्रतिनिधिको धम्की


काठमाडौँ – महानगरको कामका लागि केन्द्र सरकारसँगसमेत भिडेका काठमाडौँ महानरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अहिले आफ्नै जनप्रतिनिधिसँग भिडिरहेका छन् । नगरसभाको बैठकदेखि विभिन्न कार्यक्रममा बालेन भर्सेस वडाध्यक्षको अवस्था प्रष्ट देखिँदा जनप्रतिनिधिहरु उनको ज्यादती सहन नसकिने बताउँदै आक्रोशित बनेका छन् । निरंकुश शैलीमा अघि बढ्ने र आफ्ना कुरै नसुन्ने उनको प्रवृत्तिमा प्रश्न उठाइरहेका उनीहरु पार्टीकै साथ पाएपछि त झन आटिलो बनेका छन् ।

यी हुन् काठमाडौँ महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन । जनप्रतिनिधि भन्दा एमालेका नेता देखिएका उनी महागर प्रमुख बालेन्द्र शाह उर्फ बालेनप्रति बागी देखिँदै आएका छन् । उपप्रमुख सुनिता डँगोललाई पछि पार्दै सच्चा एमाले देखिएका उनले नगर अधिवेशनमै नेकपा एमालेको नेता भएको परिचय बालेनलाई गराउन भ्याए । विरोधको आवाज राखेरै आफू राजनीतिमा स्थापित भएको बताएका उनले त्यसको विरुद्धमा जानेलाई मुर्दावाद भन्ने उल्लेख गरे ।

बालेनसँग उनको यही नै पहिलो भिडन्त हैन । न त राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि भर्सेस बालेन भएको नै यो पहिलो घटना हो । यसअघि न्यूरोडमा फुटपात निर्माणका विषयमा केन्द्र सरकारसँग भिडेपछि उनी यस्ता जनप्रतिनिधिको घेराउमा परेका थिए । यही रस्साकस्सीले असार २ गते (आइतबार) काठमाडौं महानगरपालिकाको नगर सभाको पन्ध्रौँ अधिवेशनको दोस्रो बैठक स्थगित नै भयो ।

वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलका कारण नगरअधिवेशको बैठक नै स्थगित भएपछि बालेनले पोष्ट नै गरेर तीन नेताका कारण १ सय ६० नगरसभा सदस्यको बोल्ने अधिकार हनन् भएको बताएका थिए ।

यी तिनै जना राजनीतिक दलबाट निर्वाचित प्रतिनिधि हुँदा यसलाई बालेनविरुद्धको घेराबन्दीकै रुपमा अथ्र्याइयो । तर उनीहरुले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रमको अध्ययन गर्न नपाएको र समय थप्न माग्दा प्रमुखले नै अधिवेशन स्थगित गरेको आरोप लगाएका छन् । जसले बजेट नै कसरी आउँछ भन्ने बहस यो बीचमा चल्यो भने एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतालाई बालकोटमै बोलाएर मन्त्रे ।

तर उप्रमुखले नै बजेट ल्याउनु पर्ने बाध्यताले उनीहरु आक्रामक बन्न नसक्ने अवस्था बने पनि उनीहरु पछि हटेनन् । जहाँ माओवादीबाट निर्वाचित नगरसभा सदस्य अनिता कार्की ढोलीले मेयरसँग समय लिएर बोल्ने क्रममा मेयरले सिंहदरबार जलाउँछु भन्दा भोलि महानगरबासीले मेयरको दरबार जलाए भने के हुन्छ भनी प्रश्न गर्न भ्याइन् ।

देखिने गरि काम गर्ने, तर्क संगत कुरा गर्ने र पछि नहट्ने बालेनको यही स्वभावका कारण उनको लोकप्रियता बढ्दो छ । जसले राजनीतिक दलहरुको निद नै हराम हुँदा यसलाई कसरी राजनीतिक रुपमा प्रयोग गर्ने भन्नेमा नेताहरु व्यस्त छन् । यही कारण यो पल्ट कांग्रेसले काँधै हालेको देखिँदा ओलीबाहेक अरु सत्तारुढ दलका नेताहरु पनि मुखै खोलेर बोल्न सकेनन् । यता नीति तथा कार्यक्रम पास नहुँदै उपमेयरलाई बजेट पढाएका महानगर प्रमुख बालेनलाई सुनिताले पनि साथ दिइन् । विश्वले नै हामीलाई हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिमा संयमित हुन बालेनलाई आग्रह गरिन् ।

हुन त विपक्षीको कुरै नसुनी अघि बढ्ने गरे, त्यो बालेनकै लागि घातक बन्ने छ । अहिले पाएको जनसमर्थनको प्रयोग निरंकुशतामा भन्दा सहकार्यमा खर्च गरे त्यसले उनलाई नै साझा व्यक्तित्व बनाउने पक्का छ । तर खुरुखुरु काम गरिरहेका उनलाई अनावश्यक जिस्काउने तथा हैसियत नै बिर्सिएर केन्द्रका नेताहरु भिड्ने काम गरिरहेका छन् । जुन पहरोमा कुइनो जुदाउनुजस्तै बन्दा मौन बसेका ओलीले त शायद पाठ सिके, अब कार्यकर्तालाई पनि सम्झाउने बेला आएको छ ।