Breaking

लोेकेसन पत्ता लागेका जीबी भागे ! गगनको प्रश्न : मन्त्री फेर्ने कि प्रधानमन्त्री ?


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिएका छन् । बैठकमा सांसदहरुले बजेट कटौतीको प्रस्ताव पनि गरेका छन् ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सम्बन्धित मन्त्रीहरूले सांसदले राखेका प्रश्नको जवाफ दिएका छन् । बैठकमा युवा तथा खेलकुदमन्त्री, वनमन्त्री, शिक्षामन्त्री, श्रममन्त्री, सहरी विकासमन्त्री, रक्षामन्त्री र खानेपानीमन्त्रीलगायतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका हुन् । साथै बैठकको विशेष र शून्य समयमा सांसदहरुले समसामयिक विषय उठान गरेका छन् । बैठकमा सांसदले गृहमन्त्री र प्रधानमन्त्रीकै कार्यशैलीमाथि प्रश्न उठाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेसन पत्ता लागेर पनि पक्राउ किन गरिएन भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरे । शर्माले गृहमन्त्रीले जीबी राईको लोकेसन पत्ता लागिसकेको अभिव्यक्ति दिएको भन्दै किन पक्राउ नगरिएको हो भनी प्रश्न गरे । साथै अर्का महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन् । प्रधानमन्त्री आफैँले मन्त्रीहरुले आफूलाई नटेर्ने गरेको उल्लेख गर्दै बालुवाटारबाट डेरा सर्न सांसद थापाले आग्रह गरे ।

असार ६ गते प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरेका थिए । यो विषयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री गत बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा निरीह देखिएको उल्लेख गरे ।

बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री हरि उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजना रोकिएको बताए । सांसदहरुले सेनाले विकास निर्माणका काम गर्ने, उद्योग चलाउन खोज्ने विषयका सम्बन्धमा प्रश्न गरेका थिए । जवाफमा उनले सैनिक कल्याणकारी कोषमा रहेको रकम उपयोग गरेको विषयलाई व्यापार व्यावसाय गरेको रुपमा नबुझिदिन आग्रह गरे । साथै सीमा सुरक्षामा सेना खटाएको विषयमासमेत उनले जानकारी गराए ।

साथै शून्य समयमा सांसदहरुले मधेशमा खानेपानी लगायतका समस्या समाधान गर्न चुरे संरक्षणका लागि सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरे । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसियाले मधेशमा खानेपानी लगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन् । कांग्रेका सांसद प्रदीप पौडेलले चुरे संरक्षणका लागि काठमाडौं आएकाहरूलाई भेट्न सरकारका कोही पनि प्रतिनिधि नपुगेको गुनासो गरे । सप्तरीबाट ५७ दिनअघि २० दिन हिँडेर काठमाडौं आएका उनीहरू माइतीघर मण्डलमा ३२ दिनदेखि धर्नामा रहेका छन् । सो प्रश्नको वनमन्त्री नवलकिशोर शाह सुडीले जवाफ दिए ।

मन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले खेल क्षेत्रको बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बिराजभक्त श्रेष्ठले खेलकुदका संघ संंगठनमा ठूलो राजनीति हुने गरेको र त्यसको समाधानमा आफू लागि परेको जवाफ दिए । साथै सत्ता पक्ष र प्रतिपक्ष सांसदहरुले सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्नेमा जोड दिए ।।