अन्तर्राष्ट्रिय

पुटिन र किमको दोस्ती सीलाई भारी, विश्वका युद्धले चीन थप शक्तिशाली बन्दै


रुस–युक्रेन युद्ध होस् वा गाजामा इजरायलले गरिरहेको आक्रमण । दुई देशबीच भइरहेको जति पनि संघर्ष छ । त्यसमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विश्वका शक्ति राष्ट्रहरुको संलग्नता रहँदै आएको छ । यसमा पनि मुख्य रुपमा अमेरिका र चीनको आ–आफ्नै चासो तथा साथ सहयोग रहने गरेको विषय ओपन सेक्रेट नै हो । तर, अमेरिकाले सहयोगको नाममा युद्धरत एउटा पक्षलाई सिधै हतियार उपलब्ध गराउँदा चीनले भने त्यस्तो नीति अवलम्बन गरेको छैन ।

अहिले विश्वको विभिन्न देशहरुमा युद्ध चलिरहेको छ । रुस–युक्रेन युद्धका साथै हमासविरुद्ध इजरालयले चलाइरहेको कारबाहीलाई नै लिने हो भने पनि विश्वका शक्ति राष्ट्रहरु विभाजित भइरहेका छन् । यी युद्धमा पश्चिमा शक्ति राष्ट्र अमेरिका र उदयीमान एसियाली शक्ति राष्ट्र चीनको चासो र संलग्नता बढ्दै गएको छ ।

कतिपय अवस्थामा दुई देशबीचको जारी युद्ध के हुन्छ भन्ने विषयमा उक्साउनेदेखि रोक्नेसम्मको भूमिका चीनले निर्वाह गरिरहेको देखिन्छ । रुसविरुद्धको लडाइँमा अमेरिकाले युक्रेनलाई खर्बौं डलरको आर्थिक तथा हतियार सहयोग गरिरहेको छ । पैसा र हातहतियारको खोलो नै बगाएको छ अमेरिकाले । यस्तै हमासविरुद्ध कारबाही अभियान चलाइरहेको इजरायललाई पनि अमेरिकाले हतियार उपलब्ध गराउँदै आएको छ ।

अमेरिकाले प्रत्यक्ष रुपमै हतियारको सहयोग गर्दै आफू पनि अर्को शक्तिसँग भिडिरहेको सन्देश प्रवाह गरिरहेका छ । युद्धरत आफू निकट पक्षलाई हतियार उपलब्ध गराउने अमेरिकामात्र एक्लो राष्ट्र भने होइन । यो सूचीमा इरानको नाम पनि जोडिने गरेको छ । इरानले प्यालेस्टाइनलाई हतियार आपूर्ति गर्दै आएको छ । अहिले युक्रेन र रुस तथा हमास र इजरायलबीच संघर्ष चलिरहेको छ ।

बाहिर देख्दा र सुन्दा यो युद्ध रुस–युक्रेन र इजरायल–हमासबीच जस्तो देखिए पनि उनीहरुका पछि अरु पनि शक्ति राष्ट्रहरुको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । अमेरिकाले युक्रेनलाई हतियारसहित ठूलो परिमाणमा आर्थिक सहयोग गरिरहेको छ । यस्तै इजरायललाई पनि हतियार उपलब्ध गराउँदै आएको छ । यसलाई यसो पनि भन्न सकिन्छ, अमेरिकाले युक्रेन र इजरायलको काँधमा बन्दुक राखेर रूस र हमाससँग युद्ध लडाउँदै छ ।

यस्तै, चीन र ताइवानबीच विवाद बढिरहेका बेला अमेरिकाले ताइवानलाई करिब १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री ग¥यो । हारपुन र साइडविन्डर क्षेप्यास्त्रसहितको सैन्य हतियार ताइवानले अमेरिकासँग खरिद गरेसँगै चीन रुष्ट बनेको थियो ।

विश्वको हरेक देशमा युद्धलाई थप प्रोत्साहित गर्न र युद्ध भूमिको आगोमा घिउ थप्न माहिर अमेरिकाको हतियार युद्धमा मात्रै होइन । विश्वभर धेरै हतियार बिक्री गर्ने मुलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । विश्वभर हुने हतियार निर्यातमध्ये अमेरिका एक्लैले ३९ प्रतिशत हिस्सा ओगटेको छ । यता चीन भने हतियार बिक्रीमा मौन रहँदै आएको छ । अमेरिकाले रुसलाई चिनियाँ कम्पनीहरूले गैरघातक सहयोग उपलब्ध गराइरहेको र बेइजिङले घातक सहयोग पनि उपलब्ध गराउन सक्ने आरोप नै लगाएको थियो । तर त्यस अभिव्यक्तिलाई चीनले प्रतिवाद गरेको छ ।


हुन त चीनले सैन्य सामग्री उत्पादन गर्ने आफ्नो क्षमता बढाइरहेको छ । चीन अहिले विश्वको चौथो ठूलो अस्त्र निर्यातकर्ता हो । चीनमा अहिले निकै उन्नत तथा आधुनिक अस्त्रहरु बनिरहेका छन् । विश्वमा हतियार निर्यात गर्ने देशहरुमध्ये चीन चौथो स्थानमा छ । चीनले ४.६ प्रतिशत हिस्सा ओगटेको छ ।

तर चीनले युद्ध भूमिमा हतियार पठाएको सहर्ष स्वीकार गरेको छैन । अमेरिकाले हतियार निर्यातलाई आफ्नो अर्थतन्त्रको मुख्य हिस्सामध्ये एकको रुपमा अगाडि बढाउँदा चीनले भने हतियारभन्दा पनि अन्य उत्पादनलाई बढी ध्यान दिएको देखिन्छ । प्रविधिको विकास र उत्पादनका साथै व्यापारलाई बढी महत्व दिएको चीनले विश्वको अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्दै आफूलाई थप बलियो बनाउँदै लगेको छ । यद्यपि, युद्धरत देशहरुको पक्ष–विपक्षमा अमेरिका र चीनले खेलिरहेको भूमिकाले भने विश्वलाई नै भड्खालोमा हाल्ने जोखिम बढेको विश्लेषण भइरहेको छ ।