Breaking

रविको चियापानमा ठूला माछा, नेपाली ब्रान्डमा ओली–प्रचण्ड मोडल,कोको पुगे ?


काठमाडौँ – पार्टी गठनको ६ महिनामै उभार ल्याएर संसदीय राजनीतिको डेढ वर्षमा प्रश्नको गर्तमा जाकिएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना दिवस मनाएको छ । पार्टी कार्यकाल वनस्थलीमा भव्य कार्यक्रमकाबीच सम्पन्न समारोहमा उच्च पदस्थदेखि शीर्ष नेताहरुसम्म सहभागी थिए । निकै अर्थपूर्ण र संकेतदिने कार्यक्रम गर्ने प्रयास गरेको रास्वपाको स्थापना दिवसमा केही रोचक दृश्यहरुसमेत देखिए ।

पृष्ठभूमिमा नेवारी बाजाको धुन, अगाडि स्वदेशमै उत्पादन भएका वस्तुको प्रदर्शनी, छेउमै कपडा बुन्ने तान अनि त्यसमा नाटक गरिरहेका वृद्ध नेता । झट्ट हेर्दा घेरलु उत्पादनको प्रदर्शनी जस्तो देखिने यो दृश्य राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको हो ।

काठमाडांैको वनस्थलीस्थित चःमतीमा रहेको रास्वपा कार्यालयमा शुक्रबार रनघन थियो । सारी चोलोमा सजिएका रास्वपाका महिला सांसद र दौरा सुरुवालमा ठाटिएका पुरुष सांसद, नेता तथा कार्यकर्ताहरु अन्य दलका शीर्ष नेता र उच्च पदस्थलाई स्वागत गर्न व्यस्त थिए । हुन पनि वहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराईसम्म समारोहमा उपस्थित थिए ।

त्यस्तै उपेन्द्र यादव, राजेन्द्र लिङ्देनलगायतका नेता समारोहमा पुग्दा कलाकारमा आनी छोईङ डोल्मासमेत देखिएकी थिइन् । अर्थात नो नट अगेनका निसाना र त्यसको अभियन्ता एकै ठाउँमा उभिएको यो गज्जबको दृश्यमा ठूला माछा विनोद चौधरीसमेत झुल्किए । जुन दृश्यले नयाँले पुरानाको सम्मान नगरेको प्रधानमन्त्री प्रचण्डको गुनासोदेखि आफूमाथि राज्यले आतंक मच्चाएको चौधरीको दुखेसोसम्म सम्बोधन भइसकेको संकेत मिल्थ्यो ।

चियापानस्थलमा रास्वपाको चुनाव चिन्ह घण्टी पनि झुण्ड्याइएको थियो । साथै गाँजा, अल्लोको रेसाबाट बनाइएको उत्पादनसमेत प्रदर्शनीमा थिए । आए जति भीभीआईपी अतिथिलाई घण्टी बजाउन लगाउन रास्वपाको टोली नै परिचालित भएको देखिन्थो । अर्थात विज्ञापनमा कुनै कसर बाँकी नराखेको रास्वपाले सो विज्ञापनमा सबैलाई भूमिका दिइरहेजस्तो देखिन्थ्यो । शायद यही बुझेर होला एमाले अध्यक्ष ओलीले भने घण्टी नबजाएर रास्वपामाथि नै अर्को सन्देश दिन भ्याए ।

समारोहमा ठूला नेतामध्ये सबैभन्दा पहिले देउवा नै पुगेका थिए । सत्ता समीकरणमा धरमर भइरहेका बेला यसलाई अर्थपूर्ण रुपमा हेरिँदा देखाउन भने रास्वपाले केही पनि बाँकी राखेन । जसलाई पार्टी सभापति रवि लामिछानेले आफूहरु हरेक विषयमा नयाँ ढंगले प्रस्तुत हुने गरेको रुपमा यसलाई व्याख्या गरे । प्रदर्शनमा राखिएका सामग्रीहरुलाई राजनीतिक दलको कार्यक्रममा किसानको उत्पादन समेटिने नयाँ अभ्यासको संज्ञा दिए ।

यद्यपि, कार्यक्रमको दृष्य गर्नेभन्दा बोल्ने उसको पुरानै रणनीतिको झलकका रुपमा देखिँदा यसले नै छ महिनामै उभार ल्याएर संसदीय राजनीतिको डेढ वर्षमा प्रश्नको गर्तमा जाकिएको अवस्थाबाट पार लाउन सक्ने अवस्था छैन । बरु पुरानोसँगै लटपटिएको आक्षेपकाबीच खाने कुरामा सबै मिल्छन् भन्ने भाष्य नै रास्वपाको गतिविधिले प्रमाणित गर्दै गएको छ । जसको नयाँ अध्याय स्थापना दिवस बन्दा परिपक्क बन्नेभन्दा सस्तो लोकप्रियताको पछि लाग्ने गरेको आक्षेपलाईसमेत यसले बल पु¥याएको छ ।