Breaking

ठूला नेता थुनेर सरकार छाड्दै रास्वपा, उपयुक्त नेता र मौकाको खोजी, २ वर्ष विवादमै बित्यो


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको दुई वर्ष पूरा गरेको छ । यस अवधिमा पूराना दलहरुको विकल्पकै रुपमा उदाएको भनिएको रास्वपा पूरानै दलहरुको सहयात्री बनिदिँदा लोकप्रियता बढ्नुको साँटो खस्किदो क्रममा छ । कस्तो रह्यो रास्वको दुई वर्ष ?

वैकल्पिक राजनीतिको नयाँ जोससहित जनतामा सकारात्मक उर्जासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई वर्षे तीव्र रुमानी उडान भरिसकेको छ । पार्टी गठनको संगठनको बल बिना नो नट अगेन, बढा नेताबाट देश चल्न नसक्ने, आफूहरुले नेतृत्व गर्न पाए पाँच वर्षमै देशमा कायापलट गर्न सकिने, नेपालमै युवा टिकाउने बरु १०० दिन सरकारको नेतृत्व गर्न पाए विदेसिएका युवासमेत फर्काउने लगायतका आकर्षक स्कीम लिएर जनतामा गएको रास्वपालाई मतदाताले २० सिटसहितको चौथो दल बनाएर संसद पठाइदिए ।

सोही बलले एक वर्षभित्रै सिंहदरबार छिर्ने हैसियत बनायो । अहिले दोस्रोपटक सरकरको शक्तिशाली गृहमन्त्रीसहित चार महत्वपूर्ण नेतृत्वको जिम्मा लिएर जनताको ध्यान खिचिरहेको छ । सरकारमा सहभागिताबारे पार्टीमै दुई धार स्पष्ट रुaपमा देखिँदा पुष्टवृष्टीमा उदाएको रास्वपाले भीरको बाटोमा सिस्नु समातेर हिँडिरहनुपरेको पनि स्वीकार गरेको छ ।

तर, अहिले रास्वपामाथि यक्ष प्रश्न खडा भएको छ– यो पार्टी पुराना दलको विकल्प हो वा सहयात्री ? विगतका बाचा बिर्सिएर विगतमा आफूले गरेका अपराध ढाँक्न सभापति लामिछानेले गृह मन्त्रालयमा मरिहत्ते गरेको बिषय ओपन सेक्रेट भइसक्दा रास्वपाले आफ्नो धरातलीय यथार्थता अर्थात लोकप्रियता गुमाइसकेको छ । किनभने राजनीतिमा बालेन्द्र शाह, हर्क साम्पाङ लगायत नयाँ पुस्ताको उदय र उभारलाई देखेर रविको मिडियामा छँदाको लोकप्रियतालाई राजनीतिमा कन्भर्ट गरिएकाले उसको जग जनताको विश्वास थियो । जुन पछिल्ला केही घटनाक्रमले जनताको विश्वासको राडार निकै तल झरिसकेको छ । सरकारबारे पार्टीमै पर्याप्त छलफल नगर्नु, नेताहरुमाथि नै ठगीको आरोप र आफैँले महिना दिनमा दिन्छु भनेको नतिजा तीन महिनासम्म पनि दिन नसक्दा रास्वपाप्रति जनताको विश्वास गुम्दै गएको विश्लेषण हुन थालेको छ ।

अहिले रविले सिंहदरबार पुगेर चार मन्त्रालयको नेतृत्व गर्नुलाई अनवरत यात्राको चुली मान्दा पार्टीकै एक तह भने आफू जोगिन सत्ता रोजेको स्पष्ट भएको रुपमा यसलाई बुझिरहेको छ । यतिमात्र होइन इलामको उपनिर्वाचनले संगठन आवश्यक रहेको महसुस नेताहरुले गर्दा समेत त्यसमा ध्यानै नदिनु, इलामको हारले मिसन ०८४ मै धक्का पुग्ने आकलन पार्टी उदयकै बेला आलोचकहरुले गर्ने गरेको खहरे भेलको टिप्पणी मेल खाँदै गएको छ ।

पार्टीका अधिकांश नेतहरुमाथि ठगीको आरेप, पार्टी स्थापना दिवसकै दिन सर्वोच्चमा सभापतिमाथि लागेको कालो धब्बाको सुनुवाइ, ढाका प्रकरणको थप पुष्ट्याइँ र मन्त्री पद बेच्ने कोर टिमको खोजी, आफैँ गृहमन्त्री हुँदासमेत चुनावी अभियानका क्रममा मारिएका ड्राइभर दिलबहादुुर थापाको हत्या वा आत्महत्या के भएको हो ? भन्नेबारे सोधी खोजी नगर्नु तथा सहकारी ठगहरुका नाइके जीबी राईलाई नसमाउनु, बरु भगाउन कोसिस गर्नु जस्ता तथ्यलेसमेत समग्र रास्वपा बदनामित बन्ने अवस्था आएको छ ।

यसबीचमा एमाले लगायतका ठूला दलहरुले नै पुल्पुल्याएर सत्तामा लगेर काम गर्नमा अड्चन थापेर नयाँ पनि पुराना दल जस्तै हुन् भन्ने भाष्य रास्वपामाथि निर्माण गर्न सफल भएका छन् । पार्टीबाट पनि सरकार छाड्नु पर्ने तीव्र दबाब रहँदा रवि भने यी सबै आरोप र दागहरु भर्पाइ गरी सरकार छाड्ने उत्कृष्ट मौका खोजीरहेका छन् ।

सकभर सत्तामै ठूलो उथलपुथलको मौका रविले कुरिरहेका छन् । श्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुुर देउवाकै पत्नी आरजु र केपी ओलीसम्मकै फाइल खोल्ने तयारीमा उनी छन् । त्यसकै रिर्हसलका रुपमा आईजीपी परिवर्तनको प्रयास पनि गरे तर सफल हुन सकेनन् । रविलाई सत्ता छोड्न सबैभन्दा ठूलो मौका सहकारी प्रकरणमा कांग्रेसले संसद अवरोध गरेको समय थियो । तर, त्यसबेला छाडेनन् ।

अब हाइप्रोफाइलका फाइल खोल्ने र ठूला दलले दबाब दिएको बाहना बनाएर आफूू ठिकठाक देखिने तथा गुमेको लोकप्रियता फेरि जुटाउने कथा रविले बुुनिरहेका छन् । विराजभक्त श्रेष्ठ, गणेश कार्की लगायतले सरकारबाट तत्कालै बाहिरिनु पर्ने आवाज उठाउँदा रविकै कोर टिमका मानिने मुकल ढकालले समेत अब ठूलै निर्णय नलिए पार्टी जोगाउनै मुस्किल हुने बताएका छन् ।

यता सत्ता छोड्नुपर्ने एक पक्षले आवाज उठाइरहेकै समयमा मुकुलको पनि अभिव्यक्ति आउनुलाई शंकाको नजरबाट कोर टिमका रवि र मुकुल जुधेजस्तो देखिएर विराजभक्त पक्ष कमजोर बनाउन खोजिएको रुपमासमेत हेर्न सकिन्छ । किन कि यसो गर्न सकिए सरकार रविले र पार्टी संगठन मुकुलले हेर्दा अर्को पक्षले नजर उठाउन पाउँदैन । देशभर समीक्षा यात्रामा निस्किएका महामन्त्री ढकालले नै तत्काल सरकार छाड्नु पर्ने सन्देश दिँदा बिहीबार मात्रै चितवन पुगेर समीक्षा यात्राका सुझाव मान्ने बताएका लामिछाने कुन बाटो हिँड्छन् बाँकी उनकै हातमा ।