Breaking

रविले गरे प्रचण्डको अपमान, नयाँ पुराना लडाईंको नाटक, सत्तामा मिलिजुली भागबन्डा


काठमाडौँ – एकले गाली र अर्काेले खिल्ली उडाउँदै फरक विचार र दृष्टिकोणबाट संसदीय राजनीतिमा आएको नयाँ र पुराना राजनीतिक दलको समीकरणले देशमा सत्ता सञ्चालन भइरहेको छ । तर, राजनीतिमा सत्ता र शक्ति नै प्यारो हुने हुँदा नयाँ र पुराना नाम मात्रै फरक भए पनि उद्देश्य एउटै हुँदा कार्यशैली पनि सबैको उस्तै देखिएको छ ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीमा एक अनौठो झलक देखाएका छन् । संसदीय राजनीतिमा आएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई सम्मान गर्दै पहिलो पटकमै सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री पद दिएका प्रधानमन्त्री प्रचण्डले नयाँ दलले पुरानाको सम्मान गर्न नसकेको गुनासो पोखे ।

पुराना राजनीतिक दलहरूको दशकौंको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको सत्ता सहकार्यमा सँगै रहेको रास्वपालाई कटाक्ष गरे । तर, उनै प्रचण्ड आफूलाई अपमान गर्नेको बचाउमा हरदम लागि परिरहेका छन् ।

आफ्नो पदीय आचरणविरुद्ध गएर रोष्ट्रमबाट नै रविको मुद्दामा क्लिन चिट दिनेदेखि आफ्नै महान्यायाधिवक्ता नै बदानमित हुने गरि सहकारीको रकम हिनामिनाको ढाकछोप गर्दै बचाउ गरिरहेका छन् । रिक्त रहेको ११ देशको राजदूतमध्ये एउटा रास्वपालाई छोडिदिएका प्रचण्डले राष्ट्रिय राजनीतिमा मात्रै नभइ कूटनीतिक क्षेत्रमा पनि नयाँलाई स्थान दिइरहेका छन् ।

त्यतिमात्रै होइन, चन्द्रकान्त(सीके) राउत नेतृत्वको जनमत पार्टीलाई पनि सरकारमा सामेल गर्न कसरत गरिरहेका छन् । नयाँले पुरानालाई सम्मान गरेनन् भन्दै सार्वजनिक मञ्चमा गुनासो पोख्दै हिँडिरहेका प्रधानमन्त्री दाहालको भनाइ र गराइ ठीक विपरीत छ ।

गत आमनिर्वाचन ताका ‘नो नट अगेन’ भन्दै चुनावी प्रचार गरेको नयाँ र पुराना राजनीतिक दल स्पष्ट रुपमा दुई धारमा चिरिएका थिए । पुराना राजनीतिक दलको बर्खिलाफ जस्तै देखिएको नयाँ दल पनि अहिले तिनै पुराना दलहरूसँगको सहकार्यमा सत्तामा आसिन छ ।

नयाँले पुरानालाई गाली गर्दै र पुरानाले नयाँको खिल्ली उडाउँदै संसदीय राजनीतिमा आएका उनीहरूमाथि सत्ताको भागबण्डा मिलाएर खाने र आफ्ना काण्डको बार्गेनिङ गरिरहेको आरोप छ । तर, पुरानाभन्दा नयाँ दल फरक छ भत्रे देखाउनकै लागि भए पनि एकले अर्कालाई खुइल्याउनै पर्ने अवस्थामा उनीहरू आइपुगेका छन् । पुराना भन्दा फरक हुँ भन्दै भोटको राजनीति गरेका रविलाई पनि पार्टीको सिद्धान्त र कार्यशैलीले ठूला दलजस्तै भएको पीर परिरहँदा बोलीकै भरमा विभाजनको रेखा कोर्ने र एकले अर्कालाई फरक देखाउनकै लागि भए पनि लोक रिझाई गर्नै पर्ने दबाव छ ।

सम्बन्धको बीजारोपण नै गाली गलौज र आपसी मनमुटावबाट भएको हुँदा बेला बखत पुराना र नयाँबीच फरक देखाउनु पर्ने बाध्यता छ । पुरानाले नयाँ र नयाँले पुरानालाई देखाएरै भोट झार्ने हुँदा नचाहँदा नचाहँदै पनि तिक्तता कायम राख्ने रणनीति दलहरूले बुनिरहेका छन् । सत्ताको गठन अप्राकृतिक र राजनीतिक नैतिकताको मानकभन्दा बाहिर गएर भएपनि दलहरूले बुनेको रणनीतिको परिणाम यस्तै हुने जानकार बताउँछन् ।

चुनावका लागि चिरिएका उनीहरू सत्ताका लागि एक ठाउँमा छन् । नयाँले पुरानालाई सम्मान गर्दैनन् भत्रे प्रचण्ड नै रविलाई बोकेर हिँडेका छन् भने नयाँ पनि पहिले ठूलालाई गाली गर्ने अनि पछि उनीहरूकै शरणमा पर्ने राजनीति गरिरहेका छन् । सिद्धान्त र विचार फरक भए पनि सत्ताको लोलुप्ता र कार्यशैली एउटै हुँदा नयाँ र पुरानाबीच फरक चाहने जनता भने गुमराहमा परेका छन् । राजनीतिमा सत्ता र शक्ति नै प्यारो हुने हुँदा नयाँ र पुरानाको नाम मात्रै फरक भए पनि उद्देश्य एउटै हुँदा कार्यशैली सबैको उस्तै देखिएको छ ।