Breaking

अमरेशले बालेनको घरमा कवाड फ्याँक्ने ?, विद्यामाथि रामहरिको प्रश्न, ‘सीमामा काँडेतार लगाऔँ’ (भिडियोसहित)


काठमाडौँ— असार ७ गते आगामी आर्थिक वर्षको बजेट संसदबाट पास गर्ने कार्यसूची छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत प्रतिनिधि सभाको आजको पहिलो बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफलका साथै विभिन्न शीर्षकमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । साथै दोस्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्री प्रदीप यादवले जवाफ दिए । विषयगत छलफलसँगै संसदमा सांसदहरुको घोचपेचले आज पनि निरन्तरता पाएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा पनि सांसदहरुले समसामायिक विषयमा आ–आफ्नो धारणा राख्ने क्रममा सरकारको ध्यानाकर्षण गराउने शृङखलाले निरन्तरता पायो । साथै एक अर्कामामाथि सांसदहरुको घोचपेच थप रोचक रह्यो । युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल प्रवेश गर्नु अघि सांसदहरुले सरकारदेखि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसम्मलाई आक्रोश पोखेका छन् । कवाड व्यवसायीहरूमाथि प्रहरीको लाठी चार्जविरुद्ध सभामुखको रुलिङदेखि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् । पपुलिजमको आडमा बालेन हिटलर बन्न खोजेको तर्क गर्दै मेयरको घर अगाडि कवाडी सामान थुपारौँ भन्नसमेत भ्याए । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंह र प्रभु साहले साङ्केतिक विरोध प्रदर्शनमा सरकारले गरेको दमनप्रति आपत्ति जनाए । मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रङ्गभेदको आन्दोलन सुरु हुने खतरा देखिएको उनीहरुले आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्दै सरकारसँग जवाफ माग गरेका छन् । त्यस्तै कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले खेलकुद मन्त्रालयको बजेटमा कडा टिप्पणी गर्दै मन्त्रीको राजीनामा आउने पो हो कि भन्दै कटाक्ष गरेका छन् । त्यस्तै सांसद गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरे ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुधको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । एमालेका सांसद रघुजी पन्तले भारतसँग खुला सीमा भएका कारण तराईमा आपराधिक घटना बढेको दाबी गर्दै सीमा नाकाहरुलाई व्यवस्थित गर्न काँडेतार लगाउँदै पासपोर्ट प्रणालीमा जानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विभिन्न ८ मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम थियो । तर, संसदका कर्मचारीहरुको आन्दोलनका कारण स्वास्थ्य मन्त्रालयको शीर्षकमाथि उठेका प्रश्नको स्वास्थ्यमन्त्री प्रदीप यादवले मात्र जवाफ दिएका छन् । मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री यादव स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को कामलाई अगाडि बढाएको जनाएका छन् । यस्तै, जनशक्ति थप गर्न सांसदहरुबाट पनि दबाब आवश्यक रहेकोमा उनले जोड दिए । आधारभूतदेखि विशिष्टिकृत सेवा जनतालाई सहज रुपमा दिन मन्त्रालयले

बुधबारको दोस्रो बैठकमा ८ मन्त्रालयको विभिन्न शीर्षकमाथिको प्रश्नको जवाफ दिने कार्यसूची भए पनि स्वास्थ्य मन्त्रीले मात्रै जवाफ दिन भ्याए । कर्मचारीको आन्दोलनका कारण बैठक प्रभावित भएपछि बाँकी मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि उठेका प्रश्नको जवाफ आगामी बैठकमा दिने सभामुख देवराज घिमिरेले जानकारी दिँदै आजको बैठक स्थगित गरे । उनले विशेष कारणबस आजको कार्यसूचीमा समावेश कार्यक्रम हटाइएको बताए ।