Breaking

सत्ता–सदन र पार्टीमासमेत घेराबन्दीमा रवि, सत्ताको हतारले आफैँलाई घात, पर्दैछन् धरापमा (भिडियोसहित)


काठमाडौँ— व्यक्तिगत लोकप्रियताको बलमा राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएका पात्र हुन् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने । लोकप्रियताकै कारण जति छिटो अपत्यारिलो ढंगले शक्ति आर्जन गरे त्यति नै छिटो उनको साख संकट उन्मुख देखिन्छ । सत्ताको सकस र पेचिलो बन्दै गएको पार्टी राजनीतिसँगै आम नागरिकको भरोसा गुमाउँदै गएका रवि अहिले भाग्नु पर्ने अवस्थामा पुगेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुनावताका दिएको यो अभिव्यक्ति केही दिन यता सामाजिक सञ्जालमा भाइरल भएको छ । फरक यत्ति हो पहिले तालीको बर्षा हुने रविको यो भाषणमा अहिले गालीको ओइरो लागिरहेको छ । नहोस् पनि किन ? चुनाव जिते चमत्कार नै गर्ने, सत्ता सम्हालेको सय दिनमै कायपलट गर्छु भन्दै हिँडेका रवि सत्तामा पुगेको पनि सय दिन नै पुगेको छ । तर यो सय दिनमा उनले के गरे ? औँलामा गन्न मिल्ने जति पनि उपलब्धि हात लागेन । अर्थात उनले यो अवधिमा सिन्को पनि भाँच्न सकेनन् । यो हामीले भनेका होइनौँ स्वमं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले स्वीकार गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्याविनेटमा उपप्रधानसहित गृहमन्त्रालय सम्हाली रहेका लामिछानेले गृह सम्हालेको सय दिने समीक्षामा ठूलो केहि गर्न नसकेको आफैँले बताएका छन् ।

जुन उर्जासहित जबरजस्त राजनीतिमा उदाएका थिए अहिले त्यही साख जोगाउनै हम्मेहम्मे परेको छ । आम नागरिकको भरोसासमेत गुमाउँदै गएका रवि अहिले आफैँ भाग्नु पर्ने अवस्थामा पुगेका छन् । बोलेरै उदाएका रवि अहिले सरकार, सदन मात्र होइन पार्टीभित्र नै बोल्न नसक्ने अवस्थामा पुगेका छन् । नेपाली राजनीतिको जग हल्लाएका रवि अहिले आफैँ हल्लिन पुगेका छन् । उनको आफ्नै त्यो बलियो जग अहिले धर्मराउन थालेको छ । भाषण गरे झै काम गर्न नसकेपछि पत्रकारको प्रश्नको सामना गर्न डराएर उनी भाग्न बाध्य छन् ।

संसदीय चुनाव लगत्तै गठित सरकारमा उनले ४२ दिन गृहमन्त्रालय हाँकेका थिए । तर, नागरिकता विवादलगायतका कारण उनी सांसद पदबाटै हट्नु परेको थियो । तर हिम्मत नहारेका रवि उपनिर्वाचनमार्फत फेरि चितवनको सोही निर्वाचन क्षेत्रबाट भारी मतका साथ संसदमा कमब्याग गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको काँध फेर्दै एमाले–माओवादीको समीकरण बने पछि उनी दोस्रो पटक गृहमा फर्किएका हुन् । गृहसहित रास्वपाले सम्हालेको अन्य तीन मन्त्रालय मन्त्रीहरुकै कारण विवादको केन्द्रमा छ । अन्य मन्त्रीहरुले गरेका काम पनि रविकै अनेक विवादका कारण संकटग्रस्त छ । राजीनामा खल्तीमा बोकेर हिँडेको रास्वापाका मन्त्रीहरुको अभिव्यक्तिले यसलाई थप प्रष्ट पारेकै छ । कहि कतै हस्तक्षेप हुन्न आफ्नो क्षेत्रधिकारभित्र हस्तक्षेप सहन्न भनेका रवि अहिले आफ्नै मातहतमा रहेको प्रहरी प्रशासनमा प्रधानमन्त्रीको हस्तक्षेपले निरीह छन् । रविलाई वाइपास गरेर सिधै प्रधानमन्त्री र आईजीपीको सेटिङमा प्रहरी प्रशासन चलिरहेकोबारे रविलाई पत्तोसमेत छैन । सदनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको घेराबन्दी थप कसिलो बनेको छ । कांग्रेसका सांसदहरु प्रश्नमार्फत रविको कठालो समाती रहेका छन् । सत्ता बाहिर हुँदा चिच्याएर बोलेका विषयमा संसदको रोष्ट्रमबाट सम्झाइ रहेका छन ।

चुनावअघि आफैले ‘नो नट अगेन’ भनेकै नेताहरूसँग सम्झौता गरेर सत्तामा रहेका रवि झनझन लाचार र कमजोर हुँदै गएका छन् । सत्तामा सत्तारुढ दलकै घेराबन्दी छ । प्रतिपक्षको चरणबद्ध आक्रमण रोकिएको छैन । पछिल्लो समय पार्टी सत्तामासमेत रवि रणभुल्ल छन् । विगतभन्दा जनविश्वास थप कमजोर हुँदै गएको छ ।

सञ्चार क्षेत्रबाट उनले कमाएको लोकप्रियताकै बलमा बिना संगठन जबरजस्त जनमत प्राप्त गर्दै संसदमा २१ सिट जित्न सफल रवि अहिले आफ्नै कारण संकटमा छन् । पुराना दलहरुको राजनीतिले देशको भविष्य संकट उन्मुख भएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएका रवि र उनको पार्टी रास्वपाले सरकारमा जान गरेको हतारले नागरिकको भरोसा टुट्न गएको छ । साथै रास्वपा र नेताहरुको भूमिका प्रभावकारी हुन नसकेको विश्लेषण भइरहेको छ ।