Breaking

सिरहामा आफ्नै फुपूको छोराको चिरपट प्रहार गरी हत्या


काठमाडौँ— सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फुपूको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षीय फेकु भन्ने संजय सदाले आफ्नै फुपूको छोरा ४० वर्षीय गेनी सदायमाथि सामान्य विवादमा चिरपट प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो । विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भीर घाइते दाइ गेनीको उपचारको क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।

सामान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना राति नै भएपनि प्रहरीले बिहान ५ बजेमात्र जानकारी पाएको थियो । जानकारी पाउनसाथ पुगेका अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागि गोलबजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनास्थल मुचुल्लका उठाउने कार्य भइरहेको र शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख शुनिल कार्कीले जानकारी दिए ।