Breaking

मोदीसँग जुधेकी प्रियंका गान्धी चुनाव लड्दै, राहुलले छोडे वायनाडको सिट, जित्न कति सहज ?


काठमाडौँ – भारतीय कंग्रेस नेता राहुल गान्धीले केरलाको वायनाडको सिट छाड्ने भएका छन् । यो सिटमा राहुलकी बहिनी तथा कंग्रेस नेतृ प्रियङ्का गान्धी चुनाव लड्ने भएकी छन् ।


भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलाको वायनाड छाड्ने निर्णय गरेका छन् । पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलाको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए । दुबै सिटमा जितेपछि उनले नियमअनुसार एउटा सिट छाड्नु पर्ने हुन्छ । अन्ततः उनले केरलाको वायनाड छाड्ने निर्णय गरेका छन् । राहुलले वायनाड छाड्ने निर्णय गरेसंगै राहुलकी बहिनी तथा कंग्रेस नेतृ प्रियङ्का गान्धी चुनाव लड्ने भएकी छन् । यसअघि राहुलले आफू निर्वाचित दुई सिटमध्ये कुन राख्ने र कुन छाड्नेमा दुबिधा भइरहेको बताएका थिए ।

उनले भनेका थिए हामी यस्तो निर्णय लिनेछौं जसले दुवै निर्वाचन क्षेत्रका मतदाता खुसी होऊन् । कांग्रेस नेता प्रियंका गान्धीले वायनाडको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफू हर्षित भएको बताएकी छन् । वायनाडका जनतालाई आफूले राहुलको कमी महसुस हुन नदिने उनले बताएकी छन् । वायनाडको प्रतिनिधित्व गर्न पाउँदा आफूलाई एकदमै खुसी लागेको पनि उनले भनेकी छन्।

राहुलले आफू बारम्बार वायनाड आइरहने बाचा गरेका छन् । उनले आफू पनि यहाँका जनतालाई खुसी राख्न निकै मेहनत गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि राहुल गान्धी रायबरेलीबाट झन्डै ४ लाखको मतान्तरले विजयी भएका थिए । त्यस्तै वायनाडमा उनले भारतीय कम्युनिस्ट पार्टीकी एनी राजालाई ३ लाख ६४ हजार मतान्तरले हराएका थिए । गान्धी सन् २०१९ मा वायनाडबाट विजयी भएका थिए । प्रियंका गान्धीले चुनावी राजनीतिमा कहिले पाइला टेक्छिन् भनेर दशकौंदेखि पर्खाइ भइरहेको थियो । अन्ततः कांग्रेस पार्टीले यो पर्खाइको अन्त्य गर्दिएको छ । यो घोषणासँगै दशकौंको प्रतीक्षाको अन्त्य भएको छ । उनले ‘लडकी हुँ, लाड शक्ति हु’ अभियान अन्तर्गत महिलालाई ध्यानमा राखेर आफ्नो अभियान सुरु गरेकी थिइन् । यसका लागि धेरैले उनको प्रशंसा गरेका थिए तर कांग्रेसले चुनावमा खासै फाइदा लिन सकेन ।

यता ‘प्रियंकाको मुद्दामा वायनाडका जनता कसरी अगाडि आउँछन् ? त्यो हेर्न बाँकी नै छ । वायनाडमा मतदान भएको धेरै दिन बितिसक्दा पनि राहुलले रायबरेलीबाट चुनाव लड्ने कुरा बताएका थिएनन् । यस्तो अवस्थामा वायनाडका जनताले राहुलको निर्णयलाई विश्वासघातका रूपमा लिन्छन् कि भन्ने शंका पनि छ । तर यसलाई राहुलले यहाँका जनतालाई खुसी राख्न निकै मेहनत गर्ने बताएका छन् । अब वायनाडमा उप–चुनाव कहिले हुन्छ ? र त्यहाँका मतदाताले कसलाई आफ्नो सांसदको रूपमा चुन्छन् त्यो हेर्न बाँकी छ ।