Breaking

उत्तर कोरियासँग सम्झौतापछि पुटिन भियतनाम जाने


काठमाडौँ – रुसविरोधी पश्चिमा गठबन्धन सक्रिय भएका बेला त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन आजदेखि उत्तर कोरियाको दुईदिने भ्रमणमा निस्कने भएका छन् ।

उनको भ्रमणबारे चर्चा भइरहे पनि पुष्टि भएको थिएन । क्रेमलिनले सोमबार अबेर यो भ्रमणको पुष्टि गरेको छ ।

दुई दशकपछि उत्तर कोरियामा उनको भ्रमण हुन लागेको हो । उनी यसअघि सन् २००० मा उत्तर कोरिया भ्रमणमा गएका थिए ।

उत्तर कोरिया पनि पश्चिमा शक्तिले पृथक् गरेको रुसजस्तै अर्को देश हो । यो भ्रमणपछि मस्को र प्योङयाङले आपसी सहयोग बढाउने सहमति गर्ने जनाइएको छ ।

उत्तर कोरिया भ्रमणका क्रममा दुवै देशका नेताले नयाँ रणनीतिक साझेदारीका निम्ति हस्ताक्षर गर्ने रुसी अधिकारीले जनाएका छन् । उत्तरपूर्वी एसियामा स्थिरताका निम्ति उक्त साझेदारी महत्त्वपूर्ण हुने ती अधिकारीको भनाइ छ ।

यसले रुस र उत्तर कोरियाबीच सन् १९६१, २००० र २००१ मा भएको सम्झौतालाई प्रतिस्थापित गर्ने जनाइएको छ ।