Breaking

नेपालजस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्त्वपूर्ण : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालजस्ता अल्पविकसित देशका लागि सहुलियतपूर्ण वित्तीय सहायता महत्त्वपूर्ण रहेको बताएका छन् । काठमाडौंमा मंगलबारदेखि सुरू भएको ‘आईडीए २१ पुनः पूर्ति बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अतिरिक्त रोजगारका अवसरहरू सिर्जना गर्न, आर्थिक गतिविधि तीव्र रूपमा अगाडि बढाएर अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनका पनि सहुलियतपूर्ण सहायता आवश्यक रहेको बताए ।

विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न उनले आग्रह गरे । विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गर्दै उनले नेपाल ठूला संकटहरूको सामना गर्न कमजोर रहेको र जलवायु परिवर्तनको असरले उक्त जोखिमलाई अझ बढाएको बताए ।

प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिए पनि नेपाल जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट असमान रूपमा प्रभावित भएको बताए । उनले नेपालको प्रचुर जलविद्युत् स्रोत, फस्टाउँदै गइरहेको, पर्यटन, कृषि व्यवसाय क्षेत्रहरू र युवा मेहनती जनसंख्या नेपालका लागि प्रमुख शक्तिहरू भएको दाबी गरे ।