काठमाडौँ – युरो २०२४ को दाबेदारमध्ये एक टोली फ्रान्सले पहिलो खेलमा अष्ट्रियाविरुदध संघर्षपूर्ण जित हात पारेपनि कप्तान केलिएन एमबाप्पेको चोट चिन्ताको विषय बनेको छ ।
समूह डी अन्तर्गत डुसेलडोर्फ एरेनामा गएराति भएको खेलमा फ्रान्सले आत्मघाती गोल मद्दतमा अष्ट्रियालाई हराएर सुरुआती ३ अंक जोड्यो । नाकमा चोट लागेर मैदान बाहिरिनुअघि एमबाप्पेल उत्कृष्ट प्रदर्शन गरेका थिए ।
३८औं मिनेटमा एमबाप्पेको प्रहार बचाउने क्रममा अष्ट्रियाका म्याक्स वोरले आत्मघाती गोल गरेका थिए । तर फ्रान्सलाई ३ अंक दिलाउन सहयोग गरेका एम्बाप्पे आफैँ नाकमा चोट लागेपछि मैदान बाहिरिनु परेको थियो ।
अष्ट्रियाका डिफेण्डर केचिन डान्सोको कुहिनोमा एमबापप्को नाक ठोक्किएपछि उनको नाकबाट रगत नै आएको थियो । त्यसपछि २५ वर्षीय एमबाप्पेलाई केही उपचार गरियो र उनी मैदान बाहिर आए । उनको स्थानमा फ्रान्सले ओलिभर जिरुडलाई मैदान पठाउने तयारी गरेको थियो ।
तर एमबाप्पे स्वीकृतिबिना नै मैदान प्रवेश गरेपछि उनलाई पहेँलो कार्ड देखाइयो । त्यसपछि ९०औं मिनेटमा एमबाप्पेको स्थानमा जिरुड मैदान प्रवेश गरेका थिए । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले एमबाप्पेको अवस्था राम्रो नरहेको बताएका छन् ।
प्रतिक्रिया