Breaking

स्थानीय सरकारले नै खोला मास्यो, बस्ती डुबानको डर, जनप्रतिनिधि नै नगरपालिकाको विरुद्धमा


काठमाडौँ – चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित भएका छन् । बस्ती नै डुबानमा पर्ने भएपछि त्रसित स्थानीयको मागमा जनप्रतिनिधि पनि उदासीन भएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा बस्ती विकासको नाममा अहिले खहरे खोला, कुलो, खोल्सा मासेर ह्युम पाइप राखी सडक निर्माणको काम धमाधम भइरहेको छ । जबरजस्ती रातको समयमा पनि काम सुरु गरिएपछि बस्ती नै डुबानमा पर्ने जोखिम बढेपछि स्थानीय भने आन्दोलित भएका छन् । जहाँ नागरिकका समस्या समाधानमा केही जनप्रतिनिधि उदासिन हुँदा केही जनप्रतिनिधिले भने जनताका मुद्दामा साथ दिएका छन् ।

नक्सामा १२ देखि १५ फिट रहेको खहरे खोला, कुलो, खोल्सा मासेर ह्युम पाइप राख्ने काम गर्दा बस्ती नै डुबानमा पर्ने जोखिम बढेको छ । खोला, कुलो, खोल्सा मासेर ह्युम पाइप राखी सडक निर्माण भएको बिरोधमा स्थानीय मात्रै नभई जनप्रतिनिधिहरुसमेत आन्दोलित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा सदस्य उमेश प्रधान र महिला सदस्य राधा कृष्ण गेलालले आफूहरुको बिरोधका बाबजुद पनि वडा अध्यक्ष सोमप्रसाद प्रधानको एकलौटी निर्णयबाट जबरजस्ती काम भएको आरोप लगाएका छन् ।

नगरपालिका र वडाको योजनाअनुसार तीन वटा उपभोक्ता समितिमार्फत काम भइरहेको जानकारी गराउँदै नियम विपरीत कुनै पनि काममा हस्ताक्षर नगर्ने भनी बिरोध जनाउँदा तथा नगरपालिकाले रोक्न पत्र काट्दासमेत रातको समय काम हुने गरेको गुनासो गरे । वडा सदस्यहरुले नियम विपरीत भएको कार्य नरोकिए अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी हाल्ने चेतावनीसमेत दिएका छन् ।

चाँगुनारयाण नगरपालिकामा बस्ती विकासको नाममा खोला, कुलो, खोल्सा मासेर ह्युम पाइप राखी सडक निर्माण गर्ने काम यो नै पहिलो भने होइन । यसअघि पनि नगरपालिका भित्रका विभिन्न वडामा यस्ता काम हुँदै आएका छन् । यस विषयमा नगरबासीले बारम्बार ध्यानाकर्षण गराउँदासमेत जनप्रतिनिधिहरु र सम्बन्धित निकायले कानमा तेल हालेर बस्ने गरेको स्थानीयको आरोप छ ।