काठमाडौँ – बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्या लगायत विविध कारण ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ । घरमै तरकारी–अचार खाने गरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई किसानले निरन्तरता दिए पनि व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको हो ।
विभिन्न पौष्टिक तत्वहरुले भरिपूर्ण ओलको खेती गर्न अरू बाली लगाउन जस्तो मेहनत लाग्दैन । न त किरा लाग्ने डर, न मल अभावको चिन्ता । तर बीउ नपाउने समस्याबाट आजित बनेका किसान ओल खेती बिस्तार गर्नबाट वञ्चित भएका हुन् । किसान विद्यानन्द साह र डिल्लीप्रसाद मेहता अरु खेती भन्दा सहज ओल खेतीमा भएपनि बीउ बिजनको अभावका कारण बिस्तारै खेती कम हुँदै गएको बताउँछन् । ओल भोज भतेरमा तरकारी, अचार बनाएर खाने गरिएको छ । ओलबाट विभिन्न पौष्टिक तत्व पाइन्छ । ओल रोप्ने समय भनेको माघदेखि फागुन अन्तिमसम्म हो ।
माटोमुनि फल्ने कन्दमुलका रूपमा चिनिने ओल वर्षायाम अर्थात असार, साउन र भदौ महिनामा खानयोग्य हुन्छ । ओलले गाउँघरमा वर्षायाममा तरकारीको अभाव टार्ने काम मात्र गर्दैन, स्वाद, सुगन्ध र पौष्टिक गुणले गर्दा ओल एक लोकप्रिय साकाहारी खानेकुरा बनेको छ । तराई समुदायमा परम्परागत भान्सा र व्यञ्जनमा ओलको महत्वपूर्ण स्थान छ । तर परम्परागत तरिकाले सानो क्षेत्रफलमा ओलको खेती गरिरहेका किसानले बीउ नपाउने समस्याले गर्दा यसको खेती बिस्तार गर्न नपाएको गुनासो गरेका छन् ।
ओलको व्यावसायिक खेतीका लागि पुँजीगत लगानी, प्राविधिक ज्ञान र सीप आवश्यक पर्छ । त्यसबाहेक राम्रो बजार पहुँच र व्यावसायिक योजना पनि महत्वपूर्ण हुन्छन् । तर व्यवस्थित तरिकाले ओल खेती गरेमा यसबाट राम्रो आम्दानी लिन सकिन्छ । यी सबै कुराको ज्ञान किसानलाई दिने गरेको सुनसरी हरिनगर गाउँपालिकाले ओलको बिउ वितरण गरी यसतर्फ आकर्षित गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ । तथापि पर्याप्त बीउ नपाएका कारण किसानले चाहेअनुसारको परिमाणमा यसको बीउ बाँड्न नसकेको हरिनगरका कृषि शाखा प्रमुख रमेश न्यौपाने बताउँछन् ।
बलौटे माटोमा ओलको उत्पादन राम्रो हुन्छ भने कम्पोष्ट मलले ओलको गानो विकासमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । तथापि भारतमा उत्पादन भएका ओल सुलभ मूल्यमा नेपालका बजारहरूमा भित्रिँदा स्वदेशमा उत्पादित ओल नेपालीको भान्सामा पुग्न कठिन छ । ओल खेती विज्ञ तथा किसान मनोजकुमार सिंहले बजारको समस्या मुख्य चुनौती रहेको बताउँछन् ।
पहिले–पहिले तराईका विभिन्न स्थानमा ओलखेती गरेर मनग्य आम्दानी गर्ने किसानको संख्या धेरै थियो । तर बीउ भण्डारण गर्न कठिनाइले गर्दा बीउको पर्याप्तता नहुनु र बजार अभावकै कारण पछिल्लो समय ओल खेती गर्नेहरू घटेका छन् ।
प्रतिक्रिया