Breaking

ब्याटिङ नचल्दा खाली हात फिर्ता, खेलाडीदेखि राज्यकै कमजोर तयारी


आईसीसी टी–२० विश्वकपमा बंगलादेशसंग नेपाल पराजित भएको छ । योसँगै नेपालको विश्वकपको यात्रा समूह चरणमै सीमित भएको छ ।
वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा नेपालको यात्रा समाप्त भएको छ । सोमबार बंगलादेशसँग १७ रनले पराजित हुँदै २०२४ को टी–२० विश्वकपबाट नेपालको यात्रा समाप्त भएको हो । बंगलादेशसंग २०१४ को बदला लिने ठूलो अवसर पनि थियो । तर त्यो अवसर नेपालले पूरा गर्न सकेन । समग्रमा नेपालका बलरहरूले तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गरे, तर ब्याटिङ सन्तोषजनक भएन ।

नेपालका आक्रामक ओपनर कुशल भुर्तेल तीनवटै म्याचमा चल्न सकेनन् । विश्वकपअघि नै खराब फर्मबाट गुज्रिरहेका कुशलमा आत्मविश्वासको कमी थियो । विकेट किपर ब्याट्सम्यान आसिफ शेखको ब्याटिङ तुलनात्मक रुपमा सन्तोषजनक रह्यो । पहिलो म्याचमा चार रनमा आउट भएका उनले साउथ अफ्रिकाविरुद्धको म्याचमा ४२ रन बनाउँदै नेपाललाई जितको आशा जगाएका थिए । तर, गलत समयमा विकेट गुमाउन पुगे । बंगलादेशविरुद्ध उनी १७ रनमा आउट भए ।

वैकल्पिक ओपनरका रुपमा टिममा समावेश गरिएका अनिलकुमार साहले तीनवटै खेलमा अवसर पाए । पहिलो म्याचमा नेदरल्यान्ड्सविरुद्ध ११ रन बनाएर आउट भएका उनले साउथ अफ्रिकासँगको खेलमा राम्रो ब्याटिङ गर्दै २७ रन जोडे । तर दुर्भाग्यबस बंगलादेशविरुद्ध भने अनिल शून्य रनमा आउट भए । यो विश्वकपमा नेपालले कप्तान रोहितकुमार पौडेलबाट धेरै अपेक्षा गरेको थियो । पहिलो खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध ३५ रनको महत्वपूर्ण पारी खेले ।

तर, साउथ अफ्रिका र बंगलादेशविरुद्ध उनको ब्याट चलेन । क्रमशः शून्य र १ रनमा आउट भए । विष्फोटक ब्याट्सम्यान कुशल मल्लले बंगलादेशविरुद्धको खेलमा निकै सुझबुझपूर्ण ब्याटिङ गरे । परिस्थितिको मागअनुसार उनले सिंगल–डबलमा रन बटुलेका थिए । तर, जब उनले हात खोल्ने निर्णय गरे, छिट्टै विकेट पनि गुमाए । तीन म्याचमा कुशलले ३७ रन जोडे । नेपालका अर्का भरपर्दा अलराउन्डर दिपेन्द्रसिंह ऐरीले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ औसत रह्यो ।

कतारविरुद्द अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्ने पाँचौँ खेलाडीको रेकर्ड बनाए थिए । तर तीन वटै खेलमा उनको त्यो जादु चलेन । उदीयमान अलराउन्डर गुल्शन झाका लागि यो विश्वकप कहिने नर्बिसिने चोट लाग्यो भन्दा फरक पर्दैन । खासगरी साउथ अफ्रिकाविरुद्धको म्याचले उनलाई लामो समयसम्म पीडा दिइरहन सक्छ । अन्तिम दुई बलमा दुई रन लिएर हिरो हुने अवसर उनीसँग थियो ।

तर गुल्शन चुके । फास्ट बलर सोमपाल कामीबाट ब्याटिङमा पनि आशा राखिन्छ । राम्रा सटहरु हान्न सक्छन् । जुन क्षमताको झलक उनले साउथ अफ्रिकाविरुद्धको म्याचमा प्रस्तुत गरे । उनले १९ औं ओभरको पाचौं बलमा हानेको १०५ मिटर लामो छक्काले नेपालको जित सम्भावना ह्वात्तै बढाएको थियो । तर, अन्तिम ओभरमा उनी ब्याटिङमा आउनै पाएनन् । हुन त देशमा राजनीति अस्थिरताले पनि खेल क्षेत्रमा लगाब छैन ।

नेपालले देखाएको यो प्रदर्शनले आगामी दिनको नेपाली क्रिकेट जगतमा धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ । खेलाडी र प्रशिक्षकको मिहिनेतले मात्र पुग्दैन नेपाल क्रिकेट पूर्वाधारको हिसाबमा धेरै नै कमजोर छ । सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला नभएको नेपालको क्रिकेट संरचना र विकासको चरण छैन नै भन्दा पनि हुन्छ । देश चिनाउने तेता हैनन् खेलाडी हो भनेर नेताले सर्हश स्विकार गर्छन् । तर खेल क्षेत्रको उन्नती र प्रगति भने उही पुरानै लयमा ।

यता खेलकुदको संरचना खेलाडीको विकासका लागि कहिले पनि पहल नचाल्ने नेतृत्वहरुले लोक रिजाइकै लागि सिहंदरबारदेखि संसदसम्म जर्सी लगाएर गए । यो खेलाडीको मनोबल बढाउन ठिक होला तर साँचीकै क्रिकेटका लागि केही गर्न चाहने हो भने अहिलेदेखि सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला निमार्णदेखि आगामी २०२६ का लागि तयारी गर्न जरुरी छ । योहो टेलिभिजनका लागि मिङमा शेर्पा काठमाडौँ ।