Breaking

एकीकृत समाजवादी भित्र विचारमा कुनै मतभेद छैनः माधव नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेकाछन् ।

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताए । अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे ।

उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेकाछन् । अध्यक्ष नेपालले आफ्नो पार्टीले नै स्थापनाका बेलामा समाजवादी कार्यक्रमलाई अघि सारेको भन्दै आगामी महाधिवेशनले त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याएकाछन् ।


उनले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरुले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे ।