Breaking

बजारमा छ्यापछ्याप्ती आँप, कसरी छान्ने ? विषादी हालेका आँप चिन्ने तरिका


काठमाडौँ – यतिखेर फलको राजाका रुपमा लिइने आँप बजारमा छ्यापछ्याप्ती देखिन थालेको छ । स्वादका दृष्टिले सबैको जिब्रो रसाउने आँप अहिले बजारमा प्रशस्तै पाइन्छ । तर कस्तो आँप खाने भन्ने विषयमा उपभोक्ताहरु अझै अन्योलमा छन् ।

असार, साउन र भदौ महिना स्वादिलो फलफूलको रुपमा चिनिने आँपको महिना हो । आँप सबैको प्रिय फल पनि हो । नेपालमा धरैथरीका आँप उत्पादन हुन्छ र भारतबाट पनि त्यत्तिकै परिमाणमा आयात हुने गरेको छ । एसिया महादेश आँपको लागि धनी मानिन्छ । जुनसुकै उमेर समूहका मानिसले आँप मन पराउँछन् । हरेक वर्ष नेपालीभन्दा पहिले भारतीय आँप बजारमा आउने गरेका छन् । त्यसो त नेपालमा खपत हुनेमध्ये अधिकांश फलफूल भारतबाटै आयात हुने गरेको छ ।

तर नेपालको सबैजसो हावापानीमा यो उपलब्ध हुने भएका कारण फलफूलको राजा मानिने आँपको माग स्वदेशी उत्पादनले नै धान्ने गरेको छ । तर यस पटक भने नेपालमा अघिल्लो वर्षभन्दा केही कम मात्रामा उत्पादन भएको र नेपाली बजारको आँप सकिएपछि भारतबाट पनि आयात हुने व्यापारीहरु बताउछन् । यद्यपि, तत्काल देशमै उत्पादन भएका आँपले बजारको माग धानी रहेकाले भारतबाट आयात नगरिएको बिक्रेता दिपक गिरीले जानकारी दिए ।

अनुसन्धानहरुले देखाए अनुसार एसिया महादेश आँपको लागि धनी मानिन्छ । अफ्रिका र मलेसियामा पनि आँपको राम्रो उत्पादन हुन्छ । नेपालमा बम्बे, केसर, दसहरी, मालदह, बन्बै ग्रिन, जर्दा, कृष्णभोग जातका आँप उपलब्ध हुने गरेका छन् । खासगरी काठमाडौंमा मालदह, कलकत्ते, दसरी, बम्बई, आम्रपाली कृष्णभोग जातका आँप बढी खपत हुने गरेको व्यापारीहरु बताउँछन् । यसभित्र पनि सबैभन्दा धेरै उपभोक्ताले खोज्ने भनेको मालदह आँप रहेको बिक्रेता चन्द्र लामा योञ्जन बताउँछन् ।

काठमाडौं लगायत देशका मुख्य सहरहरुमा बिक्री हुने आँप सिरहा, सप्तरी, महोत्तरी, सर्लाहीलगायत तराईका जिल्लामा फलेका आँप आउने गरेकाले विषाधीरहित हुने र नेपाली आँप ढुक्कले खान व्यापारीको आग्रह छ ।

बिक्रेताले यसोभन्दै गर्दा धेरैजसो व्यापारीले काँचो आँप टिपेर भण्डारण गरी कृत्रिम तरिकाले पकाउने र बजारमा ल्याउने गरेका छन् । यसोगर्दा आँपको स्वादमा मात्र होइन पोषक तत्वमासमेत प्रभाव पर्छ । त्यसैले आँपको सिजनमा तपाईंले आँप किन्नु अगाडि त्यो प्राकृतिक रुपमा नै पाकेको हो वा अन्य विषादीको प्रयोग गरी पकाइएको हो भन्ने कुरा निक्र्यौल गर्नु पर्ने हुन्छ । व्यापारीले स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा बिक्री गर्ने गर्छन् । यसबारे आम उपभोक्तालाई खासै जानकारी हुँदैन ।

विषादी हालेर पकाइएको आँपका कारण स्वास्थ्यमा जोखिम हुने भएकाले आँप किन्नु पूर्व ध्यान दिन जरुरी छ । कार्बाइडजस्ता रसायन हालेर पकाएको आँप सामान्य विधिहरुबाट पनि चिन्न सकिन्छ । खासगरी यसरी पकाइएको आपँमा प्राकृतिक रुपमा पाकेको आँपमा भन्दा कम रस हुन्छ । रस कम हुने भएकैले यस्तो आँप पानीमा तैरिन्छ भने प्राकृतिक रुपमा पाकेको आँप पानीमा डुब्छ ।

अतः एउटा भाडामा भरि पानी राखेर आँप राख्दा डुब्छ वा डुब्दैन जाँचेर रसायन हालेर पकाएको आँप छुट्याउन सकिन्छ । रसायन हालेर पकाएको आँप हेर्दा चम्किलो रंगमा पहेँलै भएर पाकेको देखिन्छ तर भित्र गिर्खा वा नपाकेको भागहरु हुन सक्दछ । रसायन हालेर पकाएको आँपमा प्राकृतिक रुपमा पाकेको आँपमा आउने जस्तो मगमग बासना कम आउँछ । रसायन हालेर पकाएको आँप सबैतिर चिल्लो पहेँलो भएर पाकेको हुन्छ भने प्राकृतिक रुपमा पाक्दा सबैतिर एकनासको पहेँलो हँुदैन । रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ । बाध्यताबश खानैपर्ने भए पनि केही समय पानीमा डुबाएर बोक्रा ताछेर मात्र खानुपर्छ ।

आँपको भेट्नोतर्फ अलिकति काटेर आधा घण्टासम्म पानीमा डुबाइ पखालेर बोक्रा तासि खाँदा केही हदसम्म असरबाट बच्न सकिन्छ । सकेसम्म प्राकृतिक रुपमा पाकेका फलफूल मात्र खाने गर्नु पर्दछ । विषादी युक्त आँप खानाने ज्यानै जानसमेत सक्ने चिकित्सकहरु बताउँछन् । आँप खाँदा धेरै प्रकारका रोगहरुबाट बच्न सकिन्छ तर यदि हामीले खाने आँप नै स्वस्थ्य छैन भने आँपले मानव शरीरमा फाइदा भन्दा नोक्सानी धेरै गर्छ ।