Breaking

एक्लिए बालेन, बढ्यो दलको घेराबन्दी, बजेट रोक्ने कांग्रेस र एमालेका वडाध्यक्षको धम्की


काठमाडौँ – आज काठमाडौं महानगरपालिकाको नगरसभा बैठकमा समेत संसदकै जस्तो दृश्य देखियो । वडाध्यक्षहरुको अवरोध र सदस्यहरु बैठक स्थलबाटै उठेर हिडेपछि नीति तथा कार्यक्रम नै पारित हुन सकेन । अहिले मेयर बालेन शाहले राजनीतिक धङधङी देखाएको आरोप लगाएका छन्, भने वडाध्यक्षहरुले एकलौटी गरेको दाबी गरेका छन् । के हो विवाद ?

काठमाडौं महानगरपालिकाको १५ औं अधिवेशनको दोस्रो बैठकमा अचम्मको दृश्य देखियो । चालु आर्थिक वर्ष ०८०÷८१ को प्रगति समिक्षा र आगामी आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रममा बोल्न चाहने नगर सदस्यहरुले बोल्ने कार्यतालिका थियो । सोही अनुरुप बैठक विधिवत् रुपमा सुचारु भयो । मेयर बालेन शाहले बैठकको अध्यक्षता गर्दै सुरु भएको जानकारी दिए र प्रस्तुत नीति तथा कार्यक्रममा बोल्न चाहने सदस्यहरुलाई नाम टिपाउन ५ मिनेटको समय पनि दिए । तर नगर सभाबाट एक्कासी सबै सदस्यहरु सभाहलबाट बाहिरिए । यो दृश्य हेर्दा असहज मात्र देखिएन, स्वयंम् मेयर बालेन पनि के गर्ने÷नगर्ने अन्योलमा देखिए ।

महानगरमा जस्तो दृश्य देखिएको थियो, जुन यसअघि देखिएको थिएन । संसदमा हुने सत्तापक्ष र प्रतिपक्षबीचको मुठभेडजस्तो दृश्य आइतबार काठमाडौं महानगरमा देखिएको हो । चौतर्फी घेराबन्दीमा रहेका स्वतन्त्र मेयर बालेन शाहलाई केही समय पहिले आफ्नै वडाध्यक्षहरुले सडकपेटी फराकिलो बनाउने काममा असहयोग गरेका कारण पछाडी सर्नु परेको थियो । आइतबार भएको नगरसभामा पनि बालेनलाई आफ्नै सदस्यहरुले साथ नदिएपछि बैठक विषय बस्तुमै प्रवेश नगरी जेठ १० सम्मका लागि स्थगित गर्नुप¥यो ।

मेयर बालेन शाहको फेसबुक पेजमा राखेको स्टाटसलाई हेर्ने हो भने नगरसभाको बैठकमा राजनैतिक गन्ध छिरेको र केही दलका सीमित नेताहरुले १६० जना सदस्यहरुको बोल्ने अधिकार हनन गरेको उल्लेख छ । उनले भनेका छन्, ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो । काठमाण्डौ महानगरको कुनै पनि नीति, योजना बारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

बालेनले यस्तो स्टाटस राख्नुका पछाडीको कारण थियो, बैंठक सुरु हुनुभन्दा पहिले केही वडाध्यक्षहरु छुट्टै बसेर एजेन्डा सेट गरेका थिए । जसकै कारण सदस्यहरु उठेर हिडेका हुन् । अर्थात् काँग्रेसबाट निर्वाचित १७ नम्बरका अध्यक्ष नविन मानन्धर, नेकपा एकीकृत समाजवादीबाट निर्वाचित १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोल र एमालेबाट निर्वाचित ३२ नम्बरका वडाध्यक्ष नवराज पराजुली छुट्टै कोठे बैठक बसेर छलफल गरेका थिए । उनीहरुका अनुसार नीति तथा कार्यक्रममा संसोधन हाल्न छलफल गरिएको थियो । तर यो कुरा थाहा पाएपछि कोठामा बसेर गरेको छलफल मान्य नहुने भन्दै मेयर बालेनले बैठक नै स्थगित गरिदिएका हुन् । अहिले वडाध्यक्षहरुले मेयर बालेनले एकलौटी निर्णय गर्न खोजेको र विदेश जाने हतारोमा बैठक स्थगित गरेको आरोप लगाएका छन् ।

मेयरका स्वकीव सचिवका अनुसार सोमबार बिहान साढे २ बजे बालेन बाज्रिल प्रस्थान गर्दैछन् । मेट्रोपोलिसको पहिलो बोर्ड बैठकमा सहभागी हुन उनी ब्राजिल उड्न थालेका हुन् । किनकि गत वर्ष बालेन महानगर विश्व संघको सञ्चालक समिति सदस्यमा निर्वाचित भएका थिए । फलतः दोस्रो बैठकबाटै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेका उनलाई वडाध्यक्षहरु बाधक बनेका हुन् ।

यसैपनि बालेन निर्वाचित भएदेखि नै दलीय जनप्रतिनिधिको घेराबन्दीमा छन् । स्वतन्त्र रुपमा निर्वाचित बालेनलाई आफ्नै वडाध्यक्षहरुले समेत साथ नदिँदा हरेक कदममा चुनौती र असहज वातावरणको सामना गर्नुपरिरहेको छ । यसपटकको विवाद पनि त्यसकै निरन्तरता हो । महानगरभित्रमात्रै नभएर सबैको आँखाको तारो बनेका बालेन केन्द्रीय राजनीतिका शिर्ष नेतादेखि अदालत हँुदै व्यवसायीहरुको समेत घेराबन्दीमा छन् । तथापी आफ्नो अडानमा अडिग हुन छोडेका छैनन् ।