Breaking

ताप्लेजुङको ४१ वडा पहिरोको उच्च जोखिममा, दर्जनौँ परिवार विस्थापित


ताप्लेजुङ । निरन्तरको वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।

गएको बुधवारदेखि ताप्लेजुङमा निरन्तर पानी परिरहेको छ । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै हिजो पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ । यसैगरी सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा हिजो गएको पहिरोले छ वटा परिवार विस्थापित भएका छन् ।


पहिरोले खानेपानीमा क्षति पु¥याउँदा मामाङ्खेका तीन सय परिवार खानेपानीबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङमा गएको बुधवारदेखि पहिरोमा परि पाँच जनाको ज्यान गइसकेको छ । ५५ वटा पशुचौपाया मरेका छन् ।

मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङका ६१ मध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा छन् । यस्तै पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित सनमा सारिएको छ ।

साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो । हिजो रातिदेखिको अविरल वर्षात्का कारण ओयामको सामाखु, चोथ्रोक, फाक्लुङ र वडा नम्बर २ को सेरेजा लगायतका स्थान जोखिममा परेका छन् ।।