Breaking

प्रचण्डको मन्त्री फेरबदलमा ओली–रविकै रोक, सिके मन्त्री नबन्ने, माओवादीमा हानथाप (भिडियोसहित)


काठमाडौँ— नयाँ सत्ता समीकरणसहित सरकार गठन भएको सय दिन बित्यो । सरकार गठन भएको सय दिनमा पाँच पटक मन्त्रिपरिषद हेरफेर गरिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छैठौँ पटक मन्त्रिपरिषद हेरफेरि तथा विस्तारको तयारीमा छन् । सत्ता समीकरण जुनसुकै बेला उथलपुथल हुने डरले अन्य साना दल भित्र्याउन मन्त्रिपरिषद अपुरो राखेका प्रचण्ड जनमत र नागरिक उन्मुक्ति पार्टीलाई आफ्नो क्याबिनेटमा समेट्न अन्तिम चरणमा छन् । डेढ वर्षे कार्यकालमा १८ पटक मन्त्रिपरिषद विस्तार गरिसकेका प्रधानमन्त्री प्रचण्डको फेरि मन्त्रिपरिषद हेरफेर गर्ने विषय अहिले चर्चामा छ ।


गठबन्धनको भरथेगमा सत्ता सम्हाली रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै बेला सत्ता उथलपुथल हुने डरले साना दललाई समेत च्यापेर आफ्नो सत्ता सुरक्षित गर्न सक्रिय छन् । प्रचण्ड आफ्नो क्याबिनेटमा नयाँ दल र मन्त्रीहरु भित्र्याउने अन्तिम तयारीमा छन् । नयाँ सत्ता समीकरण निर्माण भएको सय दिनमा पाँच पटक मन्त्रिपरिषद हेरफेर गरेका प्रधानमन्त्री प्रचण्डले फेरि मन्त्रिपरिषद हेरफेर गर्दै छन् । सरकारमा नयाँ दललाई समेट्न उनले आफ्नै पार्टी माओवादीका मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरिरहेका छन् । माओवादीका मन्त्री फिर्ता बोलाएर नयाँ दललाई सरकारमा समेट्दै थप मजबुत बन्ने उनको ध्याउन्न छ । अर्थमन्त्री वर्षमान पुनबाहेक माओवादीका सबै मन्त्रीहरु फिर्ता बोलाउने प्रचण्डको तयारी छ । २५ सदस्यीय मन्त्रिपरिषदमा दुई राज्यमन्त्री अझै खाली छ भने नाउपा र जनमतलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्ड आफ्नै मन्त्रीलाई फिर्ता बोलाउने लगभग अन्तिम चरणमा छन् ।

एमाले, माओवादी समीकरण बनेपछि सरकार गठन भएको तीन महिना बित्दासमेत सरकारमा अन्य साना दल भित्र्याउन प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिएका थिएनन् । रेशम चौधरी र रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी तथा सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा भित्र्याउन निरन्तर प्रचण्डले प्रयास गरिरहेका छन् । बुढाबुढीको झगडाले अस्तव्यस्त बनेको नाउपा र मधेश प्रदेशलाई बटमलाइन बनाएर सरकारमा सामेल नभएको जनमत अब भने लगभग सरकारमा सामेल हुन तयार देखिएका छन् । यसका लागि प्रधानमन्त्री प्रचण्डले पछिल्लो तीन महिनादेखि निरन्तर प्रयास गरिरहेका थिए । जसबाट प्रधानमन्त्री प्रचण्ड सफलता नजिक छन् । मधेश प्रदेश बटमलाइन बनाएका सीके राउतको माग पूरा गरिदिएका ओली–प्रचण्डले अहिले उनलाई सत्तामा ल्याउन उपप्रधानसहित मन्त्रीको अफर गरिरहेको चर्चा छ । रञ्जितालाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने लगभग निश्चित भइसकेको छ । नाउपा र जनमतलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड दुवै सकारात्मक छन् । योसँगै गठबन्धनभित्रका सबै दललाई मनाएर मन्त्री फेर्ने चालमा प्रचण्ड लागिपरेका छन् ।

गठबन्धनमा अन्य दललाई समेट्दै थप मजबुत बन्ने रणनीतिमा एमाले र माओवादी सक्रिय हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने यसबारे अनविज्ञता प्रकट गरेको छ । अध्यक्ष नेपालले यसबारे प्रधानमन्त्रीलाई सोधेर जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

पछिल्लो सत्ता उलटफेर पछि तीन महिनाकै अवधिमा पाँच पटक मन्त्रिपरिषद हेरफेर भइसकेको छ । गत वर्षको पुष १० मा सत्तारोहण गरेका प्रचण्डले डेढ वर्षको अवधिमा १८ पटक मन्त्रिपरिषद हेरफेर गरिसकेका छन् । तीन पटक त सत्ता उलटफेर नै गरिसकेका छन् । आफू मजबुत बन्न समीकरण र मन्त्री हेरफेरमा प्रधानमन्त्री प्रचण्डले ह्याट्रिक मारिसकेका छन् । प्रधानमन्त्रीको तेस्रो कार्यकालमा उथलपुथल गर्ने उद्घोष गरेका प्रचण्डको उथलपुथल उही सत्ता र शक्तिकै वरपर सीमित छ । जसले देशको राजनीतिक अस्थिरतालाई थप बढवा मिलेको विश्लेषण गर्नेहरु पनि छन् ।

बजेट र भारत भ्रमणले केही पछि धकेलिएको प्रचण्डको मन्त्रिपरिषद हेरफेरले अब तीव्रता पाएको छ । भारत भ्रमणपछि आफूलाई थप कम्फर्टेबल महसुस गरेका प्रचण्डको गठबन्धनलाई थप मजबुत बनाउने रणनीतिले सरकारको आयु पनि लम्बिने संकेत गरेको छ । यद्यपि, गठबन्धनभित्रैका दलहरुमा आन्तरिक शक्ति संघर्ष पनि चर्किन थालेको चर्चाले भने समीकरणीय सन्तुलन कतिन्जेल कायम रहन्छ ? अहिले नै भन्न सक्ने अवस्था छैन ।