Breaking

के का लागि प्रधानमन्त्री भएको र भएर के गर्ने भन्ने पनि थाहाँ छैन : गगन थापा


काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डलाई आफू प्रधानमन्त्री किन बनेको भन्ने नै थाहा नभएको बताएका हुन् । प्रधानमन्त्री केका निम्ति र के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उनको भनाइ थियो ।

“।।।उहाँ (प्रचण्ड)लाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन,” उनले भने, “केको लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।”

उनले देशको अर्थतन्त्रको अवस्था बेहाल भएको बताए । अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको उनले उल्लेख गरे ।

विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यति बेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले जसरी पनि प्रधानमन्त्री मात्र बन्ने खेलोफड्को गरिरहेको आरोप लगाए ।

महामन्त्री थापाले नेकपा (एमाले) ले बजेटको स्वामित्व नलिएको बताए । उनले एमाले सरकारमा बसिरहने उल्लेख गरे । तर, आफ्नो सरकार भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी एमाले अगाडि बढेको उनले टिप्पणी गरे ।

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरूले लोकरिझ्याइँबाहेक केही नगर्ने बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरू जिम्मेवारीअनुसारको काम नगरी समाजिक सञ्जालमा लाइक बढाउने काममा मात्र लागेको आरोप लगाए । उनीहरूले समस्याको समाधान गर्नेभन्दा पनि चटक गरिरहेका उनले टिप्पणी गरे ।