काठमाडौँ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूरानो मानसिकताबाट माथि उठेर आगामी आर्थिक वर्षको बजेट आउन नसकेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । बजेट वितरणमा हामी पुरानो मानसिकताबाट माथि उठ्न सकेका छैनौं’ सांसद सापकोटाले भने, ‘माथिबाट बजेट बाँड्न सक्दा मात्र निर्वाचन जित्न सकिन्छ भन्ने ह्याङओभरले काम गरिरहेको छ ।’
सांसदहरुले गर्ने टिप्पणी पनि वास्तविकता र गर्न सक्नेमा आधारित हुनुपर्ने उनको भनाइ छ । समग्रतामा सुधार गर्नका लागि विधि चाहिने र विधिका लागि सबै जिम्मेवार हुनुपर्ने बताए । सांसदहरुलाई विधायककै रुपमा अगाडि बढाउनुपर्नेमा पनि उनको जोड छ ।
भू(उपयोग नीतिको सम्बन्धमा तत्काल ठूलो सुधार गर्न नसकेतापनि सुधारको सुरुवात गर्न सकिने उनको राय छ ।
‘आजको अवस्थामा उचित भू उपयोग नीति छैन् । यो भन्न जति सजिलो छ, काम गर्न त्यति गाह्रो छ । तर, सुधारका लागि प्रयास गर्ने केही न केही नीति बनाएर सुरुवात गर्न सक्छौं’ उनले भने ।
खेतीयोग्य जमिनमा प्लटिङ भइरहेको उल्लेख गर्दै उनले यस्तो कार्यमा राज्यको ध्यान पुग्नुपर्ने बताए । गुठीको विषयका म्बन्धमा पनि राज्यले ठोस नीति लिनुपर्ने उनको राय छ ।
गरिबी निवारण मन्त्रालयको बजेटमा गरिबी निवारण गर्ने योजना चाहीँ के छ भनेर उनले प्रश्न गरे । ठोस नीति नबनाउने र केवल प्रतिवद्धता जनाउने प्रवृतिले परिवर्तन गर्न नसकिने उनको भनाइ छ ।
प्रतिक्रिया