Breaking

प्रचण्ड–बाबुरामको त्यो दोस्ती, यो वारपारको दुस्मनी, प्रचण्ड लखेट्दै बाबुराम, अर्को टार्गेट गोरखा (भिडियोसहित)


काठमाडौँ— पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आफ्नो स्थापना दिवस मनाएको छ । राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको खोजीमा भौतारिएका भट्टराईले नयाँ–नयाँ शक्ति खडा गरे पनि अस्तित्व भने जोगाउन असफल छन् । भट्टराई ९ वर्ष अघि नै अलग भएको माओवादीको पुच्छर बनेर आफ्नो अस्तित्व जोगाउन बाध्य छन् । मन मिल्दा चाटचाट, नमिल्दा काटाकाटमै उत्रिने प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भट्टराईको सम्बन्ध पछिल्लो समय सौर्हादपूर्ण छैन । साथै, गण्ड प्रदेशमा हालै भएको सत्ता उथलपुथलपछि अबको राजनीतिक कोर्स के होला ? भन्ने तर्फ धेरैको ध्यान तानिएको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) स्थापना दिवस कार्यक्रमको दृश्य हो यो । जहाँ नेसपा अध्यक्ष भट्टराईसँगै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सीके राउत, आमजनता पार्टीका अध्यक्ष प्रभु शाह र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा सहभागी छन् । काठमाडौंका मेयर बालेन्द्र शाह, धरानका मेयर हर्क साम्पाङलाई पनि निम्तो दिइएको थियो । तर उनीहरु भने कार्यक्रममा आएनन् । यसबाहेक उद्योगी, व्यवसायी, अभियान्तादेखि पहिचानवादी मोर्चाका नेतृत्वहरु कार्यक्रमा पुगेका थिए । नेसपाको कार्यक्रममा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले वैकल्पिक शक्तिको सुरुवात गरेका भट्टराईको प्रशंसा नै गर्न भ्याए । नेसपाले आफ्नो स्थापना दिवस कार्यक्रममा वैकल्पिक राजनीतिक पार्टी भनेर उदाएका दलदेखि नागरिक अभियन्ता तथा सार्वजनिक व्यक्तिलाई मात्र कार्यक्रममा बोलाउन लायक ठान्यो । मुख्य राजनीतिक दल र शीर्ष नेताहरुलाई बोलाउन उचत ठानेन् । कांग्रेस, एमाले, माओवादी जस्ता पुराना दल र नेतृत्वबाट मुलुक अघि नबढ्ने उनीहरुको ठम्याई छ ।

सत्ता र शक्तिमा रहेको माओवादी छाडेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न होमिएका भट्टराई आफैँले सुरुवात गरेको पार्टी नै चिराचिरा भए । आफ्नो शक्ति जोगाउन असफल भट्टराईले सबै वैकल्पिक शक्तिहरुलाई एउटै मञ्चमा उभ्याएर एकढिक्का भएको सन्देश दिन खोजेको देखिन्छ । गत आमनिर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र गोरखा सुम्पेर चुनाव जिताएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक उलटफेर हर्कतले आजित भट्टराईले उनै प्रचण्ड र शीर्ष दलहरुलाई धम्क्याउन पनि यो अस्त्र अपनाएको हुन सक्ने विश्लेषण भइरहेको छ । प्रचण्डबाट गोरखा छिन्ने दौडमा रहेका भट्टराईले आफ्नो पार्टीको एक मात्र प्रदेश सांसद पदलाई धरापमा पार्दै गण्डकीबाट काउन्टर सुरु गरिसकेका छन् । बाबुरामलाई निमछरो ठान्ने प्रचण्ड नेतृत्वको सत्तागठबन्धन गण्डकीको झट्काले झस्किएका छन् ।

पार्टी एकता गर्नेसम्मकै योजनामा रहेका बाबुरामलाई चुनाव जितेर प्रधानमन्त्री बनेपछि प्रचण्डले वास्ता गर्न छाडेका छन् । समाजवादी मोर्चाको मुख्य योजनाकार बाबुरामलाई नै उक्त मोर्चामा प्रचण्डले सहभागी गराएनन् । अझ मुख्य कुरा माओवादी–कांग्रेसको गठबन्धनसँग मिलेर चुनाव लडेर प्रदेशतर्फ २ र संघमा एक जना सांसद जितेकोमा प्रचण्डकै डिजाइनमा ३ सांसदले बाबुरामको साथ छोडेपछि रुष्ट बनेका उनले गण्डकीमा बदला लिन भ्याएका छन् । तर यसले बाबुराम आफैँ पनि धरापमा परेका छन् । राजनीतिक उतारचढावमा अनेक ठक्कर खाएका नेतामध्येका एक भट्टराई अझै पनि थाकेका छैनन् । नयाँ वैकल्पिक शक्ति बनाउने हुटहुटीसहित उनी लागि परेका छन् ।

माओवादीबाट फुटेर नयाँ शक्तिदेखि नेपाल समाजवादीसम्म आइपुग्दा बाबुरामले धेरै नेतासँग एकता गरे । तर एकता टिक्न भने सकेन । अर्कोतिर आफ्नै सारथिहरू पनि क्रमशः अलग हुँदै गएको अवस्थामा बाबुरामको अर्को रणनीति के हुन सक्छ ? अब कसरी अगाडि बढ्छन् ? उनको र पार्टीको राजनीतिक भविष्यलाई लिएर यस्ता प्रश्नहरु उठिरहेका छन् । यी प्रश्नको जवाफका लागि अझै केही समय कुर्नै पर्ने हुन्छ ।