Breaking

विद्या चीन जाँदै, एमालेमा हलचल, ओली असन्तुष्ट, कम्युनिस्ट पार्टीमा उथलपुथलको संकेत (भिडियोसहित)


काठमाडौँ— छिमेकी देश चीन कहिल्यै पनि नेपालको कम्युनिस्ट फुटेको हेर्न चाहँदैन । अहिले राजनीतिक अस्थीरताले सबैभन्दा बढी छिन्नभिन्न भएका कम्युनिस्ट जोड्ने शुत्र चीनले खोजिरहेको छ । यही अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चर्चा र यही बीचमा भएको चीन भ्रमण चर्चामा छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनरागमनको पूर्वाभ्यास निकै जोडतोडले भइरहेका बेला चीनले पनि भ्रमणको निम्तो दिएको छ । यसले एकातिर आन्तरिक रुपमै पृथ्वीसुब्बा गुरुङ, गोकुल बास्कोटा लगायत नेताहरु भण्डारीलाई सक्रिय बनाउन खोज्नु र पहिलेदेखि नै चीनको विश्वासपात्र रहेकी विद्यालाई उनले भ्रमणमा डाँक्नु संयोग मात्रै नभएको बुझाइ एमालेमा छ । त्यही बुझेर अहिले पनि पार्टी अध्यक्ष ओली विद्याको चीन भ्रमणमा सन्तुष्ट छैनन् । तर, उनको असन्तुष्टीकै बाबजुद भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा चीन जाँदैछिन् । औपचारिक भ्रमणमा जाने निश्चित भए पनि मिति चाहिँ टुंगिसकेको छैन । नेपालका कम्युनिस्टहरु छिन्नभिन्न भएको समयमा त्यसलाई मिलाउने मूल शूत्र विद्या नै भएको बुझेको चीन विद्यालाई नेतृत्वमा अघि सार्ने तयारीमा छ ।

२०७२ मा राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी अध्यक्ष बन्नसक्ने देखेरै राष्ट्रपतिमा सीमित पारिदिएको चर्चासमेत चल्ने गरेका छन् । तर जेठ १६ गते काठमाडौंमा भएको महिला भेलामा विद्या एमाले नेतृकै हैसियतमा प्रस्तुत हुनु, ओलीकै अगाडि समर्थन पाउनुले नेतृत्वलाई हच्काएको छ भने विद्याले राजनीतिमा फर्किने दह्रो संकेत दिएकी छन् । महिला भेला भएकाले भण्डारीको समर्थनलाई सामान्य रुपले लिन सकिए पनि पार्टीको एकतप्का अर्को ठूलो कार्यक्रममा भण्डारीको उपस्थिति गराएर थप समर्थन रहेको दर्शाउने योजनामा छ ।

यही माहौललाई क्याच गर्ने योजनामा छ– चीन पनि । कम्युनिस्ट मिलाउन र देशको नेतृत्व लिन चीनले पटक–पटक दिएको अवसर पनि ओलीको अर्कमण्यताले सम्भव नभएको निष्कर्षमा चीन पुगेको छ । २०७४ सालमा चीनकै सक्रियतामा एमाले र माओवादी मिलाएको चीन एकता टिक्न नसकेकोमा दुखी छ । भण्डारी राष्ट्रपति भएकै बेला नेकपाको विवाद मिलाउन पनि सक्रिय बनेकी थिइन् । जसले उनी विवादमै तानिनुप¥यो । कम्युनिस्ट एकतामा दृढ र समन्वयकारी विद्यालाई नै देखेको चीन फेरि विद्यामार्फत नै कम्युनिस्ट एक गराउन चाहन्छ । यस्तो हुँदा कसलाई कसरी पार्टीमा फर्काउने र कसरी व्यवस्थापन गर्ने भन्नेबारे रोडम्याप बनाउन विद्यालाई चीन बोलाएको विश्लेषण भइरहेको छ । बरु एमालेमा ओली विद्यालाई समर्थन गर्ने पुस्तालाई पन्छाउँदै नयाँहरुलाई अवसर दिइरहेका छन् । सहजै विद्या राजनीतिमा आउन् भन्ने ओली चाहँदैनन् । यसबारे ओली पक्षका नेताहरु भने खुलेर बोल्न चाहँदैनन् ।

विद्या भण्डारी आफैँ पनि पति मदनको सपना पूरा गर्न राजनीतिमा आएको बताउने गरेकी छन् । निर्दलीय व्यवस्थामा भूमिगत राजनीतिमा सक्रिय भएका बेलादेखि नै मदन चीन निकट कम्युनिस्ट नेताका रुपमा चिनिन्छन् । मदन चीनको विश्वास पात्र भएकाले अहिले पनि विद्याप्रति चीनको सहानुभूति रहनु स्वभाविक मान्न सकिने विश्लेषण हुने गरेको छ । जसका कारण विद्या र चीनको सम्बन्ध पुरानै हो । भण्डारी राष्ट्रपति भएकै समयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गरेकी थिइन् । पहिलो बीआरआई फोरममा सहभागिता जनाइनन् मात्रै कि नेपालमा बहसको क्रममा रहेकै समयमा बीआरआई अन्तर्गत नेपाल–चीन सीमापार रेलवे अगाडि बढाउने सहमतिमा हस्ताक्षर नै गरेकी थिइन् । चीनबाट पहिलो पटक राष्ट्राध्यक्षका रुपमासमेत सीले भण्डारीकै निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए । आउँदो भ्रमणबाट चीनले उनलाई कम्युनिस्ट एकताको संयोजनकारी भूमिकामा फर्काउन खोजेको देखिन्छ ।

ओलीपछि एमालेको नेतृत्व सम्हाल्ने उत्कृष्ट पात्र विद्या नै भएका बेला चीन भ्रमणलाई सामान्य आक्न सकिँदैन । त्यसमाथि भण्डारी स्वयं राजनीतिमा सक्रिय हुन खोजिरहेका बेला ओलीको ग्रिन सिग्नल विद्यालाई चाहिएको छ । एमाले, माओवादी, एकीकृत समाजवादी सहितलाई मिलाएर एउटै केन्द्र बनाउने र ०८४ को चुनावपछि शीर्ष नेताहरुलाई राजकाजको जिम्मेवारीसहितकै खाका चीनबाट आए भण्डारीको भ्रमणले फेरि कम्युनिस्ट नजुट्लान् पनि भन्न सकिँदैन ।