Breaking

विदेश जाने विज्ञापनबाट सावधान !, पुलिस रिपोर्टदेखि भिसासम्मै नक्कली


इन्टरनेट र सामाजिक सञ्जालमा पहुँच बढेसँगै साइबरजन्य अपराधमा समेत वृद्धि भएको छ । वैदेशिक रोजगारको प्रलोभनमा परी आमसर्वसाधरण गिरोहको सिकार बन्न बाध्य छन् । सामाजिक सञ्जालमार्फत विभिन्न मुलुक पठाइदिने भन्दै ठगी गर्ने गिरोहका चार जना प्रहरीको फन्दामा परेका छन् । अमेरिका, कम्बोडिया, न्युजिल्याण्ड र फ्रान्स पठाइदिने भन्दै ठगी धन्दा चलाई रहेका उनीहरुलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

यी मलिन अनुहारलाई झट्ट हेर्दा लाग्छ विचराहरु आफैँ ठगिएर प्रहरी कहाँ पुगे छन् । तर, उनीहरु ठगिएका होइनन् आफँै ठगी धन्दा चलाउने गिरोहका सदस्य हुन् । नाम राजकुमार भट्ट, वर्ष २८, घर चितवन, नविन विक, वर्ष २२, घर कास्की, नाम पवन पन्त, वर्ष २३, घर कास्की । काम तीनै जनाको ठगी धन्दा । सोझासाझा युवालाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर यो गिरोहले ठगी गर्दै आएको प्रहरीको दाबी छ । तीन सय जनाभन्दा बढी सर्वसाधरणबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको ठगी गर्ने तरिका पनि गजबकै छ । फेसबुक म्यासेन्जर, ह्वाट्स एप लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गर्ने । विज्ञापन देखेर सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने, त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुने । पीडित प्रहरीसम्म पुगे पनि थाहा नपाउन् भनेर अरुकै खातामा रकम जम्मा गर्न लगाउने र चेकमार्फत रकम निकाल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने कार्यमा संलग्न उनीहरूले विगत ३÷४ वर्षयता ३०० जनाभन्दा बढी युवाबाट ५ देखि १० लाखका दरले १५ करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ । पक्राउ परेका चार जनामध्येका एक सोलुखुम्बुका ४६ वर्षे नारायणकुमार खड्काले मात्रै अमेरिका पठाउने भन्दै लाखौँ ठगी गरेको खुलेको छ ।

पीडित नविन चौधरीसहित १५ जनाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यो गिरोह समूहले नेपालमै पनि रोजगारी दिने बहानामा केही एकाउन्टेण्ट राखेर उनीहरूलाईसमेत ठगीमा प्रयोग गरेको खुलेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दै गए पनि यस्तो प्रलोभनमा पर्नेहरु स्वयम् सचेत नहुँदा ठगी धन्दा झनै बढ्दै गएको प्रहरीको भनाइ छ । यस्तो विषयमा व्यक्ति आफैँ पनि सचेत र सजग रहनु पर्ने सम्बन्धित निकायहरुको सुझाव छ ।