काठमाडौँ – कम्युनिस्ट दलहरूलाई अहिले अधिवेशनको चटारोले सताएको छ । कोही राष्ट्रिय महाधिवेशनमा होमिएको छन् भने कोही जिल्ला अधिवेशनमा व्यस्त छन् । तर, पार्टीको नेतृत्व छात्र हुने अधिवेशनमा वैचारिक विचारभन्दा पनि व्यक्ति विशेषलाई लाञ्छना लगाउने परिपाटी बढ्दै गएको छ ।
मधेशको क्षेत्रीय मुद्दालाई आधार बनाएर राष्ट्रिय राजनीतिमा उदाएको जनता समाजवादी पार्टी नेपालको सोमबारदेखि एकताको प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । जसपा नेपालको महाधिवेशन जनकपुरधामको तिरहुतियागाछीमा तीन दिनसम्म चल्ने छ । मधेशी जनअधिकार फोरमदेखि जसपा नेपालसम्म आइपुग्दा १४ पटक पार्टी विभाजन गरेका उपेन्द्र यादव हालसम्म पनि अध्यक्षमा नै छन् । अबको महाधिवेशनमा पनि उनी नै पार्टी नेतृत्वमा आउने पक्का छ । सैद्धान्तिक बेमेलभन्दा पनि उपेन्द्रले पार्टीलाई एकलौटी गर्दा धेरैपटक पार्टी विभाजन हुँदै आएको छ ।
केही समय अघि मात्रै अशोक राई समूहले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी दर्ता गराएका थिए । अहिले उपेन्द्रविरुद्ध आवाज उठाउनेहरु पार्टीबाट बाहिरिसकेको हुँदा उनको विपक्षमा उभिने कोही छैनन् । त्यसैले पार्टी पुनः एक पटक उनकै काँधमा पुग्ने निश्चित छ । महाधिवेशनको उद्घाटन सत्रमा सबै राष्ट्रिय दललाई निम्ता गरेका उपेन्द्रले दशकभन्दा बढी सहयात्रा गरेको अशोक राई नेतृत्वको जसपालाई भने वैर भाव राख्दै बोलाएका छैनन् । पार्टी फुटका बाबजुद पनि अधिवेशन गरेको जसपाले नेतृत्व पाउने निक्र्योल हुँदा विपक्षीको खण्डन गर्न भने छोडेको छैन ।
झण्डै तीन वर्षअघि स्थापना भएको नेकपा एकीकृत समाजवादीले पनि आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा १० औँ महाधिवेशन गर्दैछ । माधव नेपालले नेतृत्व गरिरहेको पार्टीको महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी हुँदै गर्दा पार्टीका शीर्ष नेताहरू आफ्नो एजेण्डा स्थापित गरेर नेतृत्वमा आउनेभन्दा पनि उही गाली गलौजमै रमाइरहेका छन् । एकीकृत समाजवादीको नेतृत्वमा माधव नेपालको विकल्पबारे पार्टीमा औपचारिक बहस हुनै सकेको छैन । यसको अर्थ आगामी कार्यकाल पनि उनी अध्यक्षमै रहने पक्का हो ।
तर, नेपालसँगै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि पार्टीको नेतृत्व हत्याउने दाउमा छन् । तर, यिनीहरूमासमेत महाधिवेशन प्रतिनिधिको मन जित्नुभन्दा गाली गरेरै नेतृत्वमा पुग्ने सोच हाबी छ । अहिलेसम्म एमालेबाट फुटेको औचित्य नै पुष्टि गर्न नसकेको एकीकृत समाजवादीको प्राथमिकतामा पार्टीले अवलम्बन गर्नु पर्ने बाटोभन्दा पनि एमाले नेतालाई कटाक्ष गर्नुमा नै पर्छ ।
नीति र नेतृत्व परिवर्तन गर्न गरिने महाधिवेशनमा टिके प्रथा हावी हुँदा त्यसले पार्टीको आन्तरिक लोकतन्त्रमा सधैँ हस्तक्षेप गरिरहेको हुन्छ भने पार्टीका नेता, कार्यकर्ताले चाहे बमोजिमका व्यक्ति जिम्मेवार भूमिकामा नपुग्न सक्छन् । एक त महाधिवेशनमा प्रतिष्पर्धी नै हुँदैनन् । यदि भइहाले पनि विजयी भएर आउने उही पुरानै अनुहार हुने गर्छन् । जुन नेतृत्वले नीति निर्माण वा परिवर्तनमा चासो दिएको देखिँदैन । आफ्नै फाइदाका लागि पार्टीको विधानमै उल्लेख भएको ७० वर्षे उमेर हदको प्रावधानलाई हटाएर बुढा नेताहरु नै अगाडि सर्ने प्रवृत्तिको अन्त्य हुन सकेको छैन । जसले पार्टी शुद्धीकरण र पुस्तान्तरणको नारा, नारामै सीमित हुने गरेको छ ।
शीर्ष नेतृत्व आत्मरतिमा रमाउने र कुनै पनि परिवर्तनलाई आत्मसाथ गर्न नचाहने प्रवृत्ति हाबी हुँदा अधिवेशन र महाधिवेशन गर्नुको औचित्यसमेत पुष्टि हुन सकेको देखिँदैन । यसले पार्टी वा संगठनलाई नयाँ उर्जा दिनेभन्दा पनि उही पुरानै प्रवृत्तिको पुनरावृत्ति गर्ने बाहेक खासै नौलो कुरा भएको मान्न सकिन्न । नयाँ बोतलमा पुरानै रक्सी भरे जस्तै बन्ने गरेको राजनीतिक दलका महाधिवेशनहरु ।
अझ अहिले देशको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको रुपमा आफूलाई उभ्याएको नेकपा एमालेले पनि धमाधम जिल्ला अधिवेशन गरिरहेको छ । त्यस्तै माओवादीले विशेष अधिवेशन गर्ने भने पनि सत्ताको नेतृत्व गरिरहेको हुँदा सङ्गठनको बारेमा चासो दिएको छैन । यद्यपि, यी दुई पार्टीको नेतृत्वमा रहेकाहरुको विकल्प दोस्रो तहका नेताहरुले अगाडि सार्न सकेका छैनन् । सिद्धान्तविपरीत वा एकलौटी ढंगले नेतृत्व चल्न थाले महाधिवेशनबाट परास्त गर्दै सही नेतृत्वको चयन हुनु पर्ने हो ।
तर, यहाँ महाधिवेशनको सामना गर्न नसक्नेहरू पार्टी फुटाएर भाग्ने गरेका छन् । महाधिवेशनमा एजेण्डाभन्दा पनि नेतृत्वमा रहने व्यक्तिको दबाब र प्रभाव बढी हाबी हुने गर्दछ । उसैको इच्छाअनुसार पार्टी संरचनाका विभिन्न व्यक्ति चयन हुन्छन् । यदि, दबाब, प्रभाव र सहमतिले पनि काम गरेन भने चुनाव हुने अवस्था आउँछ । तर, त्यहाँ पनि आफू निकटलाई जिताइ छाड्ने तिकडमले भने पार्टीको आन्तरिक लोकतन्त्रको धज्जी उडाइरहेको हुन्छ ।
प्रतिक्रिया