Breaking

मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै,दाहाल भोलि स्वदेश फर्कने


काठमाडौँ— भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन् । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो उनी नयाँदिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिँदैछन् । प्रधानमन्त्री दाहालका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी जाने बताइएको छ ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।