काठमाडौँ – नीति निर्माण गर्ने थलो सदनमा नीति कम नियत बढी हाबी छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुको घोचपेच र रोइलोले रमिते बनेको सदनमा उपसभामुख र सांसदहरुबीचको हँस्सीमजाकले अर्को रमिता देखाइरहेको छ । सामान्य संसदीय मर्यादाकोसमेत ख्याल नगरिँदा सदनको गरिमामाथि नै प्रश्न उठिरहेको छ ।
सबैभन्दा पहिला संसदमा देखिएका यी दृश्यहरु हेराँै ।
उपसभामुख इन्दिरा रानामगर र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको यो ठट्यौलीपूर्ण संवाद संसद बैठकभित्रको हो । २०८० चैत्र ७ गतेको प्रतिनिधि सभाको प्रि–बजेट छलफल बैठकमा सांसद खतिवडाले अर्थमन्त्रीको खोजी गरेपछि उपसभामुख राना र सांसद खतिवडाबीच केही समय ठट्यौलीसहित सवाल जवाफ चल्यो । उनीहरुको यो हँसीमजाक र ठट्यौलीले सदनमा हाँसोको फोहोरा छुट्यो । दर्शक नहास्ने कुरै भएन । सदनको यो दृश्य विवादितसमेत बन्यो ।
सदनभित्र सांसद र उपसभामुखबीचको हँस्सीमजाक र ठट्यौली शैली विवादित बन्यो । तर न त सभामुख सचेत बने न त सांसदहरु नै संयमित हुन सके । उही शैलीको दृश्य सदनमा दोस्रो पटक दोहोरियो । जेठ २२ गते बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्न रोष्ट्रममा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले अर्थमन्त्री वर्षमान पुनको खोजी गरेपछि हंगामा भयो । उपसभामुख राना र राप्रपा सांसद लिङ्देनबीच दोहोरी चलेको यो दृश्य हेरौँ ।
नीति निर्माणको थलो सदनमा उपसभामुख र सांसदहरुको यो हँस्सीमजाक र ठट्यौलीलाई लिएर सांसदहरुले नै सदनमा नियापत्ति नै जनाए । जेठ २२ गतेको घटनामा नेकपा एमालेका सांसद दयालबहादुर शाहीले नियमापत्ति जनाएका थिए । सांसद शाहीले नियमापत्ति जनाएपछि राप्रपाका सांसदहरु ज¥याकजुरुक उठेर विरोध नै जनाए ।
सांसदहरुको यो हर्कतलाई सभामुखले आफ्नो अधिकार प्रयोग गरेर कारवाही गर्न सक्ने व्यवस्था छ । प्रतिनिधि सभा नियमावलीको परिच्छेद ६ को बैठक सुव्यवस्था सम्बन्धी व्यवस्थाले बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन् । अझै अटेर गरे बैठक कक्षबाट निष्काशनदेखि सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्ने सांसदलाई निलम्बनसम्म गर्ने सक्ने व्यवस्था छ । नियमावलीले सभामुखलाई कारबाहीको अधिकारी दिए पनि यसतर्फ भने सोच्नसम्म कसैले भ्याएका छैनन् ।
सदनमा भएको ठट्यौलीलाई सबैले त्यही रुपमा लिए र संसदीय मर्यादाप्रति कसैले ख्यालै गरेनन् । फलतः सभामुखको भूमिकामा रहँदा उपसभामुख र सांसदहरुको दोहोरी चल्ने गरेको छ । सामाजिक जीवनमा उचाई कमाएकी उपसभामुख राना राजनीतिक परिस्थितिले समानुपातिक निर्वाचन प्रणालीमार्फत सदन छिरेकी हुन् । र, तत्कालीन सत्ता गठबन्धनमा चिठा परेकै कारण एकाएक उनी उपसभामुख बन्न पुगिन् । तर सदन सञ्चालनमा भने उनको अपरिपक्वता बेलाबेला देखिने गरेको छ ।
त्यसक्रममा देखिने कमजारीमा उपसभामुखले संसदीय मर्यादाको समेत राम्रोसँग पालना गर्न नसकेको स्पष्ट हुन्छ । त्यसमा पुरुष सांसदहरुले उनीमाथि गर्ने छेड्छाड्ले झनै सदनलाई उट्पट्याङ र मजाक गर्ने थलोमा परिणत गर्ने परिस्थिति बन्ने गरेको छ । सांसदहरुसँग दोहोरी मात्र होइन सामान्य विषयमा समेत आफ्नो ओजलाई उपसभामुखले बुझ्न नसकेको हो कि भन्ने प्रश्न उठ्छ । गत जेठ २० गते पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद प्रकाशशरण महतले बजेटमाथि आफ्नो मन्तव्य राख्दाराख्दै समय सकिएपछि माइक बन्द भयो ।
बैठक सञ्चालन गरिरहेकी उपसभामुख रानाले समय सकिएको जानकारी दिँदै अर्को वक्ता बोलाउनुको सट्टा हड्बडाउँदै माफी माग्ने शैलीमा प्रस्तुत भइन् । माइक आफूले बन्द नगरेको र अटो भएको भन्दै उनले स्पष्टीकरण दिन भ्याइन् । संसदमा बोल्नका लागि निर्धारण गरिएको समयमा सदन सञ्चालनको जिम्मेवारीमा रहेका सभामुख वा उपसभामुखले माफी माग्नु पर्ने कुनै कारण नै हुँदैन । तर उपसभामुख रानाको अपरिपक्वता र अझै पनि सभा सञ्चालनमा नेतृत्व लिन सक्ने गरी व्यक्तित्व विकास हुन नसक्दा आफैँ विवादमा पर्ने वातावरण बन्ने गरेको छ । संसद बैठक सञ्चालनको तौरतरिकामा ढंग नपुग्दा संसदीय गरिमामाथि प्रश्न उठ्दै आएको छ ।
यसो भनिरहँदा यसअघिको राष्ट्रिय सभामा विद्युतीय व्यापार नियमन सम्बन्धी विधेयकमा छलफल हुनु पर्नेमा सबै सांसदहरुले विद्युत व्यापारबारे छलफल अघि बढाएर संसदीय गरिमामाथि नै धावा बोल्दासमेत तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थाहा पाएनन् । यस्तै घटना बिहीबार प्रतिनिधि सभा बैठकमा पनि देखियो । एउटा विषयमा बोल्न नाम टिपाएका सांसद राजेन्द्र केसीलाई अर्को विषयमा बोल्न बोलाइएपछि उनी अक्क न बक्क भए । यद्यपि, यस विषयमा कम्तीमा सभामुख देवराज घिमिरेले भने सांसदलाई सम्झाउन भने भ्याएका छन् । सदन सञ्चालनमा देखिने यस्ता कमीकमजोरीलाई संसद सचिवालयले गम्भीर रुपमा लिँदै आगामी दिनमा दोहोरिन नदिन आवश्यक पहल अगाडि बढाउन भने झनै जरुरी छ ।
प्रतिक्रिया